लामो समयदेखि प्रयोगमा आउन नसकेको कृषि उपज केन्द्र ।तस्बिर/ जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
१४ पुष , बिहीवार , २०७९
कटारी / उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा रहेको कृषि उपज केन्द्र प्रयोग विहिन अवस्थामा रहेको छ । ०४२ सालमा सगरमाथा ग्रामीण एकिकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैँया खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम,१ सिटी हल निर्माण गरी दिएपनि सम्बन्धित निकायले ध्यान नदिंदा केन्द्र प्रयोग विहिन अवस्थामा पुगेको थियो ।
लामो समय प्रयोग विहिन अवस्थामा पुगेको केन्द्रलाई गत आर्थिक वर्षमा कटारी नगरपालिकाले २० लाख बढी रकम खर्चेर मर्मत गरी पुन टहराहरु निर्माण गरेपनि प्रयोगमा आउन नसकेको हो । अहिले पनि कृषि वजारलाई व्यवस्थित गर्न बनाइएका टहराहरु प्रयोगविहिन अवस्थामा छन् ।
कटारी नगरपालिकाले कृषि बजार व्यवस्थित गर्ने, कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरीे नीति ल्याएपनि कार्यान्वयनमा आउन सकेको छैन् । ‘यसपटक बल्ल कार्यविधि बनाईसकेको छु , अव कार्यपालिका वैठकले पारित गरेपछी हाटबजार लाउने तयारीमा छौं ।’नगरपालिकाको विधान समितिका संयोजक समेत रहनुभएका वडाध्यक्ष भूपेश योञ्जनले भन्नुभयो ।‘यो कटारीकै महत्वपूर्ण केन्द्र हो यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौं ।’
पटक पटक केन्द्र सञ्चालनमा ल्याउने तयारीकासाथ सरसफाइ, अतिक्रमण गरी बसेका सर्वसाधरणलाई उठाउने लगायतका काम भएपनि त्यसले निरन्तरता पाउन नसक्दा अझै केन्द्र प्रयोगमा आउन सकेको छैन् । केन्द्रमा तत्कालै तरकारी र मासु बजारलाई लैजाने तयारी भईरहेको नगरपालिकाकी उपमेयर गिता खड्काले बताउनुभयो । बजारको सडक आसपास तरकारी विक्रिहुँदा जोखिम समेत बढेको भन्दै उपमेयर खड्काले केन्द्र संञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो ।
सगरमाथाको प्रमुख प्रवेशद्वारको रुपमा चिनिने कटारी बजारको कृषि उपज केन्द्रलाई व्यवस्थित गर्न सके ओखलढुङगा, खोटाङ र सोलुखुम्बुका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनले समेत बजार पाउने स्थानीय बताउँछन् । केन्द्र प्रयोगविहिन बनेपछी कटारी बजारमा कृषिजन्य किनमेल अव्यवस्थित किसिमले मूख्य सडककै आसपास हुने गरेको छ ।

केन्द्रसँगै २ वर्ष अघि निर्माण गरिएको शीतभण्डार पनि अलपत्र अवस्थामा रहेको छ । हेल्भेटास र कटारी नगरपालिकाको सहकार्यमा १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगमा नआएपछी अलपत्र अवस्थामा पुगेको हो । त्यसैगरी गत साल कटारी नगरपालिकाको कृषकहरुलाई मध्यनजर गर्दै प्रदेश १ सरकारबाट १ करोड २५ लाखको लागतमा आधुनिक शीतभण्डार निर्माण गर्ने तयारी गरिएपनि अन्त्यमा बजेट फ्रिज भएको थियो ।
गएको स्थानीय निर्वाचन नजिकिएपछी पुन उमेद्वार बनेर निर्वाचनमा आफु होमिएको अवस्थामा बजेट फ्रिज भएर गएको निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।नगरको पहाडी भेगमा कृषकहरुले उत्पादन गरेका उत्पादन कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडाहरुमा , सुन्तला , डल्लो खुर्सानी , अदुवा , विभिन्न तरकारीहरुको व्यवसायिक खेति हुने गरेको छ । तर शीतभण्डार नहुँदा समस्या छ ।
बनेको शीतभण्डार प्रयोगमा आउन सकेको छैन् । निर्माण भएको लामो समयसम्म प्रयोगमा नआएको केन्द्र अहिले फेरी फोहोर र दुर्गन्ध पैmलाउने केन्द्रको रुपमा परिणत बन्दै गएको छ ।


जनता भ्वाइस 








