जन्ताभ्वाईस सम्बाददाता
२२ कार्तिक ,मंगलबार , २०७९
कटारी / वैंक तथा वित्तीय संघ संस्थाहरुले अर्थतन्त्रलाई नकारात्मक असर पर्ने गरी गरिएको अव्यवहारिक ब्याजदर वृद्धि गरेको भन्दै उदयपुरका व्यापारी , व्यवसायीहरु आन्दोलित बनेका छन् । उदयपुर उद्योग वाणिज्य संघको आयोजनामा आज व्यापारीहरुले शान्तिपूर्ण प्रदर्शनका साथै ईलाका प्रशासन कार्यालय कटारी र राष्ट्रिय वाणिज्य वैंक कटारीमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
नेपाल राष्ट्र वैंकको चालु पूँजी कर्जा मार्गनिर्देशिका २०७९ मा गरिएको व्यवस्था र वैंक तथा वित्तीय संस्थाहरुले गरेको कर्जाको व्याजदरमा वृद्धिका कारण उद्योग व्यवसाय धरासायीहुँदै बन्द हुने अवस्थामा पुगेकाले संघ र आम निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको संघका कार्यवाहक अध्यक्ष अरुण साहले बताउनुभयो । ‘सुरुमा लैजानुहोस कमाउनुहोस भन्ने पछी व्याजदर वृद्धि गरेर तुरुन्त लिलामी प्रकृया अघि बढाउने गरेपछी आन्दोलन गर्न बाध्य भयौं ।’साहले भन्नुभयो –‘व्यापार , व्यवसाय ठप्प पारेर व्यापारी व्यवसायीहरुले आत्महत्या गर्ने बेला भएको छ ।’
वैंक तथा उद्योगी व्यवसायीहरुलाई वैंक तथा वित्तीय संस्थाले ऋणीहरुप्रति गर्ने व्यवहार मर्यादीत हुनुपर्ने , कर्जाको व्याजदरमा एकल अंक कायम , विगतको चालुपूँजी कर्जा निर्देशिका यथावत राखी क्रमिक रुपले लागुगर्नुपर्ने ,मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगायतका ८ सुत्रिय मागहरु व्यापारी व्यवसायीहरुले राखेका छन् । त्यसैगरी राष्ट्र वैंकले जारी गर्ने रिपो एक प्रतिशत बनाउनुपर्ने , कम्तिमा एकवर्ष व्याजदरमा वृद्धि गर्न नहुने , व्याजदर पुर्नसंरचना गर्नुपर्ने र वैंकले सुरु गरेको सम्पूर्ण लिलाम प्रकृया २०७९ चैत्र सम्मका लागि स्थगित गर्नुपर्ने मागहरु राखेर ज्ञापन पत्र बुझाएको संघका महासचिव जमानसिंह वस्नेतले बताउनुभयो ।‘हाम्रा मागहरु पुरा नभए थप कडाईका आन्दोलन गर्न बाध्य हुने छौं ।’महासचिव वस्नेतले थप्नुभयो –‘हामीलाई खाए खा नखाए घिचको परिस्थितिमा ल्याईएको छ ।’
आन्दोलनका कार्यक्रम अन्र्तगत भोलि सबै किसिमका वैंकहरुमा २ घण्टा कारोबार ठप्प पार्ने संघको प्रदेश समितिको कार्यक्रम अन्र्तगत उदयपुरमा पनि वैंकहरुमा धर्ना दिई कारोवार ठप्प पारिने संघका उपाध्यक्ष मुना कटुवालले बताउनुभयो । आन्दोलित व्यापारीहरुले कटारी बजार परिक्रमा गरी ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख टेकराज बराललाई ज्ञापन पत्र बुझाएका थिए । सोही कार्यक्रम अन्र्तगत उनीहरुले कटारी स्थित राष्ट्रिय वाणिज्य वैंकको शाखामा पनि ज्ञापन पत्र वुझाएका थिए । कार्यक्रममा कटारीका व्यापारी व्यवसायीहरुको सहभागिता थियो ।


जनता भ्वाइस 









