जन्ताभ्वाईस सम्बाददाता
१० असोज , सोमबार , २०७९
कटारी /उदयपुरको पश्चिम पहाडी ताप्ली गाउँपालिकाले सवारीसाधनहरुको भाडादर निर्धारण गरेको छ । पहाडी गाउँपालिकामा चल्ने सवारीसाधनहरुले मनपरी भाडा लिने गरेको गुनासो आएपछी गाउँपालिकाले भाडादर निर्धारण गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष धनामाया मगरका अनुसार गाउँपालिकामा चल्ने बोलेरो ,बस , ट्याक्टर , जेसिबी र स्काभेटरको भाडादर कायम गरिएको हो ।उपाध्यक्ष मगरको अध्यक्षतामा बोलेरो , यात्रु वस , ट्याक्टर र स्काभेटर दररेट निर्धारण सम्बन्धि सरोकारवालाहरुको वैठक वसेर भाडादर कायम गरिएको हो ।
निर्णय गरिएका भाडादरको उल्लघंन गरिएको पाईएमा दण्ड जरिवाना गर्ने समेत निर्णय गरिएको छ । ‘पहिलो पटक दररेटभन्दा बढी लिएको रकम फिर्ता गराउँछौं । ’उपाध्यक्ष मगरले भन्नुभयो–‘दोस्रो पटक ५ हजार जरिवाना गर्ने निर्णय भएको छ ।’
चाडबाडमा झनै धेरै आउजाउ बढ्ने समयमा मनपरी भाडा असुल्ने गरिएकोले गाउँपालिकाले यो कदम चालेको हो । दररेट अनुसार कटारीबाट गाउँपालिकाको पिपलभञ्ज्याङ्ग सम्म प्रतियात्रु भाडादर ६ सय , सामाग्री ढुवानी प्रतिकिलो ६ रुपैंया , रुपाटारसम्म प्रतियात्रु ७ सय , समाग्री ढुवानी प्रतिकिलो ७ रुपैंया , ठानागाउँ ,निगालबास , लेखगाउँ , ईनामे , प्रतियात्रु ८ सय र सामाग्री ढुवानी प्रतिकिलो ८ रुपैंया रहेको छ ।
त्यसैगरी गाईघाटबाट ईनामे प्रतियात्रु ८ सय , प्रतिकिलो सामाग्री ढुवानी ८ रुपैंया , रुपाटार प्रतियात्रु एकहजार ,सामाग्री ढुवानी प्रतिकिलो १० र कटारीबाट जोरढुंगा प्रतियात्रु ५ सय र सामाग्री ढुवानी प्रातिकिलो ५ रुपैंया दररेट तोकिएको छ । त्यसैगरी ट्याक्टर जोत्न प्रतिघण्टा १ हजार ८ सय , जेसिवी प्रतिघण्टा भ्याटसहित दुईहजार ८ सय र स्काभेटर भ्याट सहित प्रतिघण्टा ६ हजार दररेट राखिएको छ ।


जनता भ्वाइस 







