जन्ताभ्वाईस सम्बाददाता
१८, असार , शनिबार , २०७९
कटारी / अविरल वर्षापछी कटारी नगरपालिकाको कटारी बजारमा रहेको अव्यवस्थित ढलनालाका कारण व्यापारीहरुले सास्ती खेप्नु परेको छ । शुक्रबार बेलुका परेको वर्षापछी कटारी ३ र ४ का व्यापारीहरुको पसल , तथा होटलहरु डुबानमा परेका थिए ।
डुबानका कारण पसलहरुमा भएका सामानहरु डुब्दा क्षति व्यहोर्नुपरेको व्यापारीहरु बताउँछन् । बजारका अधिकांस पसल तथा होटलहरु डुबानमा परेका थिए ।
रातभर पसलका सामानहरु ब्चाउन व्यापारीहरुलाई धौधौ परेको थियो । ‘धेरैको पसलहरुमा क्षति भएको छ ।’उदयपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अरुण साहले भन्नुभयो –‘क्षतिको विवरण संकलन गरिरहेका छौं , संकलनपछी यकिन क्षतिबारे थाहा हुनेछ ।’
मूख्य बजार रहेको कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काले बजारको ढलबाट पानी बाहिर आएर पसलहरुमा क्षति पुगेको बताउनुभयो । संघले तथ्यांक संकलन गरेपछी विपदवारे सिफारिस गर्ने उहाँको भनाई थियो ।
ढलनाला अव्यवस्थित र दिर्घकालिन नहुँदा बजारका व्यापारीहरुले सास्ती खेप्नु परेको हो ।‘भोलिदेखि नै ढलनाला सफा गर्न लगाउने तयारीमा छु ।’वडाध्यक्ष खड्काले भन्नुभयो ।
कटारी उदयपुर जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र रहेपनि यहाँको ढलनाला तथा सडक व्यवस्थित हुन सकेको छैन् । जसका कारण वर्षादमा व्यापारीहरुले डुबानको समस्या भोग्दै आएका छन् ।


जनता भ्वाइस 








