
जन्ताभ्वाईस सम्बाददाता
१२ माघ , बुधबार , २०७८
कटारी/कटारी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेम थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले आफुलाई धम्की दिएकोले आफु असुरक्षित भएको जानकारी गराउनुभएको छ । बुधबार साँझ सामाजिक संञ्जाल फेसबुकमा वडाध्यक्ष क्षेत्रीले डिएसपी राईले अपशब्द प्रयोग गरी जे पनि गर्न सक्ने धम्की दिएकोले आफु असुरक्षित भएको जानकारी सहितको स्टाटस फेसबुकमा पोष्ट गर्नुभएको हो ।
कटारीकै वाड नम्बर १ बेलसोत देखि २ को खोक्सासम्मको सिद्धिचरण राजमार्गको सडकखण्ड कालोपत्रेका लागि बजरंगी कन्ट्रक्सनले ठेक्का लिएपनि हालसम्म काम नगरेकोले पटक पटक प्रोपाईटर राजेश्वर साहलाई ताकेता गर्दा पनि वेवास्ता गरेको र उक्त सडकखण्डमा धुलोका कारण स्थानीयले सडक अवरुद्ध गरेको विषयमा डिएसपी राईले धम्की दिएको वडाध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभएको छ । स्थानीय नागरिकलाई भएको समस्यालाई लिएर सडक डिभिजन कार्यालय लहानमा समेत जानकारी गराई आश्वासन पाएपनि स्थानीयले मंगलबारदेखि खोक्सामा सडक अवरुद्ध गरेका थिए ।
उक्त सडक बन्द वडाध्यक्ष क्षेत्रीका कारण भएको भन्दै डिएसपी राईले धम्की दिएको उहाँले फेसबुकमा लेख्नुभएको छ । ‘तेरो कारण बन्द भएको हो भन्दै जे पनि गरिदिने धम्की दिएको हुनाले म माथि जे पनि हुन सक्ने सबैलाई जानकारी गराउन चाहान्छु ।’वडाध्यक्ष थापा क्षेत्रीले फेसबुकमा लेख्नुभएको छ ।
उक्त सडकखण्ड स्थानीयले अवरुद्ध गरेपछि आउजाउमा समस्या आएको थियो । खोक्सामा सडक अवरुद्ध भएपछी गराँसदेखि तावाखोलाहुँदै सवारीसाधनहरु आउजाउ गरेका थिए । सडकको धुलोले जनजीवन प्रभावित पारेपछी वन्द गराउनुपरेको स्थानीयको भनाई छ । सडकमा पानी हालेर धुलो उडाउन पटक पटक माग गरेपनि स्थानीय सरकार तथा ठेकेदारले वास्ता नगरेको स्थानीयले बताएका छन् ।