images
images

कटारीका ५ वडाद्वारा छुट्टै गाउँपालिका माग

ऋषि राई /जन्ताभ्वाईस सम्बाददाता
८ असार , मंगलबार

कटारी / कटारी नगरपालिकाका माथिल्लो पहाडी भेगका ५ वडालाई समेटेर छुट्टै स्थानीय तह गाउँपालिका निर्माण गर्न माग गर्दै नगरपालिकामा ज्ञापन पत्र वुझाईएको छ । मंगलबार १४ वटा वडा रहेको नगरपालिकाका वडा नम्बर ९ , १० , ११ , १३ र १४ नम्बर वडालाई समेटेर छुट्टै गाउँपालिका निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाईएको छ ।
गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमारी राउतलाई बुझाईएको हो । ज्ञापन पत्र बुझाउन उक्त वडाका वडाध्यक्षहरु , कार्यापालिकाका सदस्यहरु तथा सरोकारवालाहरु नगरपालिका आईपुगेका थिए ।
नगरभित्रको नगरवाट वितरण गरिना सेवा सुविधाहरु भौगोलिक विकटता , स्थायी पूर्वाधारको अभाव , दुरीका हिसाबले नगरबाट लिन समस्या रहेकोले छुट्टै स्थानीय तह गाउँपालिकाका आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ५६ हजार १ सय ४६ जनसंख्या रहेको नगरपालिकामा उक्त वडाहरुका मात्रै १८ हजार ५ सय ६६ जनसंख्या रहेकाले नगरपालिकालाई समेत नगरपालिका रहन कुनै असर नपुग्ने अवस्थामा छुट्टै गाउँपालिकाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको मापदण्डको आधारमा भुगोल , जनसंख्या र भौतिक पूर्वाधारहरु पुग्ने भएकाले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत उल्लेख कुराहरु अनुसार गाउँपालिका निर्माण गर्न सकिने अवस्था भएकाले गाउँपालिकाको माग गरिएको संयोजक मगगरले बताए । गाउँपालिका निर्माणका लागि नगरसभाले सर्वसहमत निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गरिदिन आग्रह गर्दैै आवश्यक कागजात सहित ज्ञापन पत्र बुझाईएको समितिले जनाएको छ ।
ज्ञापन पत्र वुभ्mदै नगरपालिकाका प्रमुख मेयर श्रेष्ठले नगरमा माथिल्लो भेगका वडाहरुलाई रहेको समस्या भएकाले ज्ञापन पत्रमा एकेवद्धता रहेको बताए । ‘कार्यापालिकाको वैठकमा यो विषय पेश गर्छु ’मेयर श्रेष्ठले भने –‘कार्यापालिकाको वैठकमा जनप्रतिनिधिहरुबाट यो विषय सर्वसहमत पास गर्न छलफल राख्छु ।’जिल्ला समन्वय , प्रदेश सरकार र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माण्का लागि डेलिगेसन जाने प्रतिवद्धता समेत मेयर श्रेष्ठले जनाए ।
सहजिकरण समितिका संयोजक मगरले माथिल्लो वडाहरुका जनप्रनिधिदेखि स्थानीय सम्मले छुट्टै गाउँपालिका निर्माणका लागि यस अघि नै प्रकृया थालेको भएपनि निषेधाज्ञाका कारण समस्या भएकाले अहिले ज्ञापन पत्र बुझाएको बताए । नगरवासी हुँदा गर्व भएपनि भौगोलिक कारणले जहिले पनि समस्या भोग्नु परेकाले गाउँपालिकाको आवश्यकता रहेको बताए । ‘नगरपालिकाले चाहाँदा चाहाँदै पनि भौगोलिक विकटता कारण समस्या छ ।’उनले भने –‘त्यसकारण जनप्रतिधि , राजनीतिक दल , सरोकारवालाहरु र स्थानीयले छुट्टै गाउँपालिका माग गरेका हौं ।’
उक्त वडाहरुलाई छुट्टै गाउँपालिका निर्माणका लागि राज्य पुर्नसंरचनाका समयमा पनि आन्दोलन गरेको स्मरण गराउँदै वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्रीले छुट्टै गाउँपालिका अति आवश्यक रहेको बताए । विगतमा पनि आन्दोलनको नेतृत्व गरेका वडाध्यक्ष क्षेत्रीले त्यतिवेला आन्दोलनले वडाको संरचना निर्माणमा सहमति जनाएपनि गाउँपालिका निर्माण गर्न नसकेपनि हाल व्यवहारगत रुपमा काम गर्न पनि गाउँपालिका आवश्यक रहेकोले गाउँपालिकाको निर्माणका लागि माग गरिएको बताए ।