कटारीन्युज सम्बाददाता
१६, फागुन ,आईतबार
कटारी / उदयपुरको कटारी नगरपालिका – १० , सोरुङ्का कृषकहरु मकैको बिरुवा किराले खाएपछी चिन्तित बनेका छन् । कृषकहरुले खेतहरुमा लगाएको मकै उम्रिन थालेसँगै अपरिचित किराले बिरुवा नै सखाप पारेपछी कृषकहरु चिन्तित बनेका हुन् । धान रोप्नु अगावै पहिलो सिजनका लागि लगाईएको मकैको बिरुवा किराले खाएपछी खेत नै बाँझो हुने अवस्थामा पुगेको स्थानीय कृषक गोपीलाल श्रेष्ठले बताउनुभयो ।
किराले मकै सखाप पार्न थालेको भन्दै वडा कार्यालयमा कृषकहरु आएपछी अनुगमनका लागि नगरपालिकाको कृषी शाखालाई पत्राचार गरिसकेको वडाध्यक्ष लिलानाथ भट्टराईले बताउनुभयो । नगरपालिकाका कृषी तथा पशु शाखा प्रमुख सोनु मिश्रले नयाँ जातको किराले मकै खाएको भन्दै आधादर्जन कृषकहरुले फोन गर्नुका साथै वडा कार्यालयले समेत पत्राचार गरेको बताउनुभयो ।
वडाबाट पत्र आएकोले स्थलगत अनुगमन जाने तयारी गरिहेको बताउँदै प्रमुख मिश्रले स्थलगत अध्ययनबाट मात्रै समस्या के हो भन्ने पत्ता लाग्ने बताउनुभयो । भोलि सोमबार स्थलगत अनुगमनमा जाने तयारी गरिरहेको पनि मिश्रले बताउनुभयो ।गतसाल फौजी किराले मकै खाएपछी पिडित बनेका किसान यस वर्ष उम्रिनु वित्तिकै नयाँजातको किराले मकै खाएपछी झनै निराश बनेका छन् ।


जनता भ्वाइस 








