काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म एक लाख १८ हजार क्विन्टलभन्दा धेरै धान किसानसँग खरिद गरेको छ । कात्तिक २८ गतेबाट थालिएको धान खरिद कार्य जारी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका ८ कार्यालयबाट धान खरिद गर्न थालेको थियो । धनगढी, राजापुर, नेपालगञ्ज, महेन्द्रनगर, बिर्तामोड, लाहान जनकपुर र वीरगञ्जबाट धान खरिद भइरहेको कम्पनीले जनाएको
‘सोमबार बेलुकासम्म १ लाख १८ हजार २४५ क्विन्टल धान खरिद भइसकेको छ, यो क्रम अझै जारी छ,’ सूचना अधिकारी सुवेदीले भनिन् ।सरकारले यस वर्ष मोटा धानको २५ सय ३२ रुपैयाँ ८० पैसा, मध्यम धानको २६ सय ७३ रुपैयाँ १० पैसा र जिरा मसिनो धान ३ हजार २० रुपैयाँ प्रतिक्विन्टल सर्मथन मूल्य तोकेको थियो । कृषहरुसँग कम्पनीले किनेकोमध्ये वीरगन्जमा खेती गरिने ३२ क्विन्टल जिरा मसिनो धान पनि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीले यस वर्ष ३ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । उक्त परिमाणको धान खरिदका लागि कम्पनीले ७३ करोड १० लाखभन्दा बढी रकम छुट्याएको छ । ‘सरकारले तोकेको सर्मथन मूल्यभन्दा बढी रकम पाए कृषकले व्यवसायीलाई धान बिक्रि गर्न सक्नेछन्, तर मूल्य नपाए कम्पनीले नै किसानको धान किन्ने छ,’ सूचना अधिकारी सुवेदीले भनिन् ।
समर्थन मूल्य भन्दा कममा कृषकले धान बेच्न नपरोस् भनेर कम्पनी सचेत रहेको उनले बताइन् । यस वर्ष छुट्याइएको रकमले धान किन्न नपुगे थप रकम सरकारसँग माग गर्ने पनि सुवेदीले जानकारी दिईन् । संस्थानले गत वर्ष २ लाख १८ हजार क्विन्टल धान खरिद गरेको थियो ।