images
images

नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई पक्षका शिर्ष नेताहरु बीच छलफल

काठमाडौं। प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई पक्षका शिर्ष नेताहरुका बीचमा अहिले बैठक हुन लागेको छ । गत बिहीबारको केन्द्रीय समितिको बैठक बहिस्कार गरेर रुष्ट भएको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सभापति शेरबहादुर देउवासहितको टोलीले छलफल गर्ने भएको हो ।

छलफलका लागि सभापति देउवासहितको टोली बरिष्ठ नेता पौडेल निवास बोहोराटारमा अहिले विहान १० बजेतिर पुग्ने कार्यक्रम रहेको छ ।
गत बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकका लागि महाधिवेशनको तालिका सम्वन्धी विषयलाई छलफलको विषय सूचीमा नराखिएको भन्दै बरिष्ठ नेता पौडेल पक्षले बैठक बहिस्कार गरेको थियो ।

कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, विभागको संख्या तथा भागबण्डा, भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा विवाद चर्केको छ ।
महाधिवेशनको कार्यतालिकालाई बैठकको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा सहभागी नहुने पौडेल पक्षको अडान र अन्तरिम संरचना समायोजनको काम नसकिएसम्म कार्यतालिकामा छलफल गर्न नसकिने सभापति देउवापक्षको अडान छ ।

पौडेल पक्षले बहिस्कार गरेपनि गत बिहीबार २६ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको आगामी बैठक भोली फेरी बस्ने तय गरिएको छ । भोलीको बैठकलाई सहज रुपमा अगाडी बढाउन सभापति देउवाले सरोकारावालाहरुसँग छलफल गर्न लाग्नु भएको हो ।

१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको ४ वर्षे अवधि आगामी फागुनमा सकिंदैछ । पार्टी विधानको दफा ४३ ले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि लम्ब्याउन सक्ने प्रावधान गरेको छ ।

यस्तै संविधानको राजनीतिक दल सम्बन्धी व्यवस्थामा ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान उल्लेख छ । संविधानले विशेष परिस्थितिमा ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ ।

संविधानको यही प्रावधानलाई टेकेर आफ्नो पदावधि डेढ वर्ष लम्ब्याउन खोजेको तथा विभागको संख्या थपेर महाधिवेशनमा आफ्नो पकड बलियो बनाउन खोजेको आरोप सभापति देउवामाथि संस्थापन इतर पक्षले लगाउने गरेको छ ।