बैंकहरूले कमाएको मुनाफाको केही प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअन्तर्गत बैंकहरूले विभिन्न संघ, संस्था, विद्यालय तथा अशक्त, बिरामी तथा अनाथ बालवालिकालाई सहयोग गर्दै आएका थिए । अहिले यही बजेटबाट नयाँ खाता खोल्नेहरूलाई १ सय रुपैयाँ उनीहरूले बैंकहरूमा जम्मा गर्ने गरेका छन् ।
बैंकहरूको आ–आफ्नै नियमानुसार खाता खोल्दा चाहिने न्यूनतम रकम तोक्ने गर्थे । अब त्यो रकम चाहिँदैन । बरु उल्टै बैंकले सय रुपैयाँ उपलब्ध गराउँछ ।
विश्व प्रविधिमैत्री हुँदै जाँदा नगद कारोबारको सीमासमेत घट्दै गएको छ । नगद राख्दा हराउने, च्यातिने, लुटिनेलगायत सम्भावना हुन्छ । जसको सुरक्षा बैंकिङ प्रणालीबाट गर्न सकिन्छ ।
सरकारले नै अहिले १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा रोक लगाएको छ । नगद कारोबारको दायरा घट्दै जाने भएकाले पनि बैंकिङ कारोबार उत्तम उपाय हो । घरमै बसेर मोबाइल, वालेटबाटै सामान खरिद–बिक्री गर्ने प्रचलन बढ्दै गएको अवस्थामा सरकारको यो योजनाले राम्रै फाइदा पुग्नेछ ।
जनसंख्याकै हाराहारीमा बैंक खाता
नेपालमा जति जनसंख्या छ लगभग त्यति नै बैंक खाता सञ्चानमा छन् । बैंक खाताहरूलाई नै आधार मान्ने हो भने शतप्रतिशत नागरिक नै बैंकको पहुँच पुगिसकेको मान्न सकिन्छ । तर, यो सही होइन, किनभने एकैजनाले धेरै खाता खोलेका हुन्छन् । बैंकिङ पहुँच अझै पनि ५० प्रतिशत नागरिकमा पुग्न सकेको छैन ।
नेपालको जनसंख्या २ करोड ९७ लाख ८७ हजार ५ सय ९८ रहेको छ । उता बैंक खाता भने कात्तिक मसान्तमा २ करोड ९२ लाख ६९ हजार ६ सय ३१ पुगेको राष्ट्र बैंक बताउँछ । बैंक खाता जनसंख्याकै हाराहारीमा पुगे पनि बैंकिङ पहुँचमा भने ६१ प्रतिशत नागरिकमात्रै पुगेको राष्ट्र बैंक बताउँछ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पछिल्लो समय बैंकमा खाता खोल्न आकर्षण राम्रै बढेको बताए । यद्यपि, यो नै पर्याप्त भने नभएको उनी बताउँछन् ।
‘वित्तीय साक्षरताको अवस्थामा निकै सुधार भएको छ, बैंकिङ कारोबारको फाइदाबारे अब नागरिकमा चेतना बढ्दै गएको छ’, प्रवक्ता निरौलाले भने, ‘अब बैंकिङ पहुँच पनि क्रमशः बढ्दै छ ।’
राष्ट्र बैंकले लिएको सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने लक्ष्यले बैंकिङ पहुँचमा निकै सुधार हुने प्रवक्ता निरौलाले दाबी गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकले चालेको कदमका कारण पनि बैंकिङ पहुँच सुधारिँदै गएको उनले बताए ।


जनता भ्वाइस 








