काठमाडौं – भाइबर, इमो लगायतका सामाजिक सञ्जाल प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ ।
अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल मार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए ।
पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए । नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए ।
उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए ।