कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ ।
प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर सोमबार एक दिन विद्यालय बन्द आह्वान गरेका हुन् ।
आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की छात्रा प्रकृति चन्दलाई ट्रकले कुल्चिएपछि कोहलपुर तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै तर्फका करिब दुई दर्जन घाइते भएका छन् ।
आक्रोशित समूहले विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस र सार्वजनिक गाडीहरुमा तोडफोड गरेको थियो ।
स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ट्रकको ठक्करबाट घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।
Related