काठमाण्डौ । यातायात व्यवस्था कार्यालय बागमतीमा चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् ।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको छ ।
कार्यालय प्रमुख डम्बर ब.चन्दका अनुसार सेवाग्राही कार्ड लिन आउँदा कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । २/३ वर्ष पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । कार्ड लिनको लागी विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आएका छैनन् ।
कार्यालयमा सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आउने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको छ । मुलुकभर झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको जनाएको छ ।
प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न नसक्दा अहिलेसम्म विभागले नै मुलुकभरका चालक अनुमतिपत्र छाप्दै आईरहेको छ ।