काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद पुर्नगठन गर्ने सम्भावना रहेकाे छ । हिजो (आइतबार) बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीले एक/दुई दिनमै मन्त्रीहरू हेरफेर गर्ने घोषणा गरेका थिए ।
यी हुन् सम्भावित नयाँ अनुहारका मन्त्रीहरू:
क्ष्रोतका अनुसार नयाँ मन्त्रीका नाममा अहिलेसम्म पूर्वएमाले समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा छ । त्यस्तै, पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु शाहलगायतको नाममा दुई अध्यक्षको तहमा अनौपचारिक छलफल चलिरहेको छ ।
को-को हट्दैछन् ?
प्रधानमन्त्री कार्यालयको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालकाे कुर्सी धरापमा रहेको क्ष्रोतको दावी छ ।
हिजो आइतबार बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको थियाे । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएको जनाए ।
सचिवालय बैठकले प्रवास कमिटी पनि गठन गरेको छ। बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।