सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअलमलिने बताएका छन् । उनले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् ।
“सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन, हामीलाई राम्ररी थाहा छ, सरकारका तर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ” शुक्रबार स्याङ्जाको आलमदेवी मन्दिरको टिकटमा टाँचा लगाउन पुगेका मन्त्री बाँस्कोटाले भने, “विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्याउनेछौं ।”
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाे उनले बताइन् ।