फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । केहीले राजनीतिक विषयलाई प्रमुख समाचार बनाएका छन् भने अधिकांशले बेथिति र अनियमिततासँग सम्बन्धित विषय उठाएका छन् ।
कान्तिपुरले संसद्को खरिद प्रक्रियाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, अरुलाई विधि र प्रक्रियामा हिँड्न प्रेरित गर्नुपर्ने संघीय संसद् आफैंले कानून मिचेर बर्सेनि करोडौंको खरिद गर्दै आइरहेको छ ।
कान्तिपुर लेख्छ– एउटा कम्पनीसँग वर्षमा एक पटकमा ५ लाख रुपैयाँसम्मको सामान खरिद गर्न मिल्ने कानूनी ‘छिद्र’को दुरुपयोग गर्दै सचिवालयले करोडौंको सामान खरिद र मर्मतसम्भारको काम गराउँदै आएको छ ।
कान्तिपुरका अनुसार प्रतिष्पर्धाबिनै राष्ट्रियसभाका पदाधिकारीको कार्यकक्षमा निश्चित फर्मलाई काम गर्न दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको छ ।
अन्नपूर्णले ठूला दलभित्रको किचलोलाई कम्पाइल गरेको छ । नेकपा कार्यदलका असन्तुष्टले बझाएको समानान्तर प्रतिवेदन र विरोधकैबीच कांग्रेसले पारित गरेको विधानलाई अन्नपूर्णले समाचारको विषयवस्तु बनाएको छ ।
अन्नपूर्णकै पहिलो पृष्ठमा वाइडबडी खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेकोदेखि भानुभक्त आचार्यको दरबार हाइस्कुलमा उपेक्षित अवस्थामा रहेको शालिकसम्मको चर्चा छ ।
नागरिकले नख्खु बम विस्फोट घटनालाई कसरी लिने भन्नेबारे विभिन्न व्यक्तिहरुको राय लिएको छ । त्यस्तै सांसद्को ज्यान गएपछि प्रदेश ५ ले सडक सुरक्षा कार्यदल गठन गरेको खबर पनि नागरिकको पहिलो पृष्ठमा छ ।
राजधानीले सातै प्रदेशले लोकसेवा आयोग गठनसम्बन्धी कानून छिट्टै पाउने भएको लेखेको छ । रानीपोखरी पुनर्निर्माण मोडालिटी टुंगिएको अर्को खबर पनि राजधानीमा पढ्न सकिन्छ ।
आर्थिक दैनिक कारोबारका अनुसार मलेसिया रोक र खाडी संकटको प्रभावले वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटेका छन् ।