images
images

संकटाले अहिले आफ्नै मैदान बनाउँदै

काठमाडौं  । प्रशिक्षण गर्ने आफ्नै मैदान भएका क्लबहरु नेपालमा थोरै छन । प्रशिक्षण मैदानकै अभावमा टुँडिखेलमा तयारी गरेर क्लबहरुले ए डिभिजन लिग खेल्नुपर्ने बाध्यता छ । फिफाले क्लब लाइसेन्स अनिवार्य गर्नुपर्छ भनिरहेका बेला नेपाली फुटबल क्लब भने प्रशिक्षण मैदान खोज्न धाइरहेका छन् । त्यही सास्ती हटाउन क्लब संकटाले अहिले आफ्नै मैदान बनाउने काम अघि बढाएको छ । 

नेपाली फुटबलमा पाँच दशक भन्दा लामो इतिहास बोकेको क्लब संकटाले भक्तपुरको सुर्यविनायकमा आफ्नै प्रशिक्षण मैदान बनाइरहेको छ । दुईवर्ष अघि निर्माण थालिएको मैदान करिब ३१ रोपनीमा फैलिएको  छ। ६ महिनाभित्र प्रशिक्षण लिन योग्य बनाएर आगामी सिजनको लिगको तयारी यही मैदानमा गर्ने योजना क्लबको छ ।

करिब २ वर्ष भित्र टेक्निकल सेन्टर सहितको मैदान तयार गर्ने योजनामा संकटा छ । मैदानमा प्राकृतिक घाँस प्रयोग गरिनेछ । लगभग एक करोड लगानीमा मैदानलाई खेल्न लायकको बनाइने छ । १५ वर्षकालागि भाडामा लिइएको यो जग्गामा संकटाको कार्यालय पनि निर्माण गरिने छ ।  

संकटाले पनि यसअघि ए डिभिजन लगायतका अन्य टुर्नामेण्टको तयारी टुँडिखेलको धुलाम्य मैदानमै गर्थ्यो । अहिले बन्दै गरेको आफ्नै मैदानले पूर्णता पाएपछि क्लबको स्तरमा थप परिपक्कता देखिनेछ भने संकटालाई फिफाको लाइसेन्स प्रणालीमा जान थप सहज हुनेछ ।