images
images

प्रहरी सक्रियताको लागि निरीक्षण : आईजिपि खनाल

काठमाण्डौ । प्रहरी, सेनाजस्ता सुरक्षा निकायमा अनुशासन, चुस्तता, कार्यालय व्यवस्थापन, वैज्ञानिक अभिलेख व्यवस्थापन, अपरेशनल गतिविधिमा सक्रियता लगायतका लागि निरीक्षण महत्त्वपूर्ण हुने गर्दछ । सुरक्षा सङ्गठन चलायमान, योजनावद्ध तरीकाले सञ्चालन, सुदृढ र जनशक्ति सक्षमताका लागि राम्रोलाई प्रोत्साहन र नराम्रोलाई कारवाही गरी तत्काल सुधार गर्न निरीक्षण आवश्यक हुन्छ । अन्य देशका सुरक्षा निकायमा पनि सङ्गठनलाई व्यवसायिक र जीवन्त राख्न यस्ता निरीक्षण हुने गर्दछन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुरूप हुने आन्तरिक निरीक्षण प्रहरी प्रधान कार्यालयमा विगत ६ वर्षदेखि हुन नसकेको परिप्रेक्ष्यमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसको सुरुवात गर्नुभएको छ । प्रहरी कार्यलाई चुस्त दुरुस्त राख्न सङ्गठन प्रमुखबाट प्रत्यक्ष निरीक्षण तथा निर्देशन हुनुपर्ने मान्यताअनुरुप प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग, महाशाखा, शाखालगायत उपत्यका तथा उपत्यका बाहिरसमेत विभिन्न प्रहरी कार्यालयको निरीक्षण सुरुवात उहाँले गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले हालसालै मात्र प्रहरी प्रधान कार्यालय परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, विपद व्यवस्थापन महाशाखा, सामाखुशी; महानगरीय प्रहरी वृत्त, बालाजु; महानगरीय प्रहरी वृत्त, सिंहदरबार; सङ्गीत विद्यालय महाराजगञ्ज; सशस्त्र प्रहरी गण नम्बर १ नक्साल; नेपाल प्रहरी विद्यालय सामाखुसी; नेपाल प्रहरी विद्यालय साँगा काभ्रे; ईलाका प्रहरी कार्यालय टाँडी, चितवन; वडा प्रहरी कार्यालय नारायणगढ, चितवन; जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवन लगायत नेपाल प्रहरी अस्पताल समेतको निरीक्षण गरी प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका लागि अभिप्रेरित गर्नुका साथै निर्देशन दिएर प्रहरी सक्रियता अझै बढाउने कार्यको सुरूवात गर्नुभएको हो ।

प्रहरीलाई शान्ति सुरक्षामा ध्यान दिन, नागरिकलाई सुरक्षित समाजको अनुभूति गराउन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई नागरिक केन्द्रित काम गर्न निरीक्षण र निर्देशनले मद्दत पुर्या्उने देखिन्छ  । वर्षाको समयमा हुने बाढी पहिरोलगायतका प्रकोपका बेला उद्दार कार्य तथा विपद व्यवस्थापनमा अझै चुस्त हुन सोही कार्यको लागि गठित विपद व्यवस्थापन महाशाखाको निरीक्षण भएबाट विपदको बेला तत्काल खटिन सक्रियता बढ्ने अपेक्षा गर्न सकिन्छ । साथै नजिकै आउन लागेका चाडपर्वमा कुनै विकृति विसङ्गतिजन्य कार्य तथा अवाञ्छित गतिविधि हुन नदिने गरी सवै प्रहरी एकाईलाई तयारी राख्नु निरीक्षणको अभिप्राय हो ।

सङ्गठनको उद्देश्यप्रति गम्भीर भई जिम्मेवारी पुरा गर्न, व्यावसायिक रुपमा निर्भिक, इमानदार, कर्तव्यनिष्ठ भई काम गर्न निरीक्षणले सघाउ पुर्याेउने देखिन्छ । प्रहरीले सम्पादन गरेका कामको प्रतिविम्व कार्यसम्पादनको आधार बनाइने र त्यसको प्रत्यक्ष असर वृत्तिबिकासमा पर्ने अनुभूति भएबाट यसको प्रत्यक्ष असर प्रहरी कार्यमा पर्ने र सकारात्मक नतिजा आउने आशा गर्न सकिन्छ । साथै शान्ति सुरक्षा र कानून कार्यान्वयनमा कुनै सम्झौता गर्न नहुने, सेवाग्राहीसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने, गैरकानूनी क्रियाकलाप भए कानून बमोजिम कारबाही गर्नुपर्ने तथा कानूनविपरित काम गरे प्रहरी कर्मचारी समेत सजायको भागीदार भइन्छ भन्ने सचेतना थपिएको छ ।

प्रहरी कार्यालयले सम्पादन गर्दै आएका कार्यहरू, त्यसले पारेको सकारात्मक तथा नकारात्मक प्रभाव, सो काम गर्ने साधनस्रोत, प्रहरी कर्मचारी, हातहतियार र बन्दोबस्तीका सामान लगायतको सुक्ष्म अवलोकन गरी थप प्रभावकारी बनाउन प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन अत्यन्त प्रभावकारी सावित हुने देखिन्छ । प्रहरी कर्मचारीमा जिम्मेवारी बोध गराउन, मनोबल र सक्रियता बढाउन, विपदका बेला तुरुन्त र उचित सेवा प्रदान गर्न तथा हरबखत सेवा दिन सक्ने बनाउन, उपलब्ध स्रोतसाधनलाई दुरुस्त राख्नका साथै जनशक्तिको आवश्यकता तथा चूनौती पहिचान गर्न निरीक्षण फलदायी सावित भएको छ । यसबाट प्रहरी सङ्गठनलाई चुस्त दुरुस्त राख्न, तल्लो तहको पीरमर्का बुझेर सही सम्बोधन गर्न, भविष्यको योजना र रणनीति बनाउन, समस्याको व्यहारिक समाधान गर्न निरीक्षणको माध्यमबाट सङ्गठन प्रमुखले पाउने सूचना र सुझावबाट सहयोग पुग्ने देखिन्छ ।

निरीक्षणको उद्देश्यबारे प्रकाश पार्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री भन्नुहुन्छ, “सम्पूर्ण प्रहरी कर्मचारीलाई नजिकबाट वुझ्ने, उनीहरूको कामको स्तर हेर्ने, कुनै त्रुटी भए हटाई तत्काल सुधार गर्ने उद्देश्यले सङ्गठन प्रमुखबाट निरीक्षण भएको हो ।” प्रहरी वरिष्ठ उपरीक्षक थापाको कथन छ, “कानून कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम, कानूनी राज्यको स्थापना, मानवअधिकारको सम्मानजस्ता प्रहरीका मुख्य जिम्मेवारी पूरा गर्न कार्यालय व्यवस्थापन र कर्मचारीको सक्रियता त्यतिकै चुस्त हुनुपर्छ । सङ्गठन प्रमुखको निरीक्षण यसैको एउटा सुरुवात हो ।”

 नेपाल प्रहरीको वेबसाईडबाट