images
images

किन सुध्रिदैन सेती अञ्चल अस्पताल ?

धनगढी साउन १२, कैलाली र कञ्चनपुरका धेरै सर्वसाधारणले उपचार सेवा लिने धनगढीको सेती अञ्चल अस्पताल प्रदेश सातकै रेफ्रल सेवा दिने अस्पताल हो तर अधिकांश गम्भीर खालका स्वास्थ्य समस्यामा पनि अस्पतालका स्वास्थ्यकर्मीहरूले राम्रो व्यवहार गर्दैनन् भन्ने गुनासो बढ्दै गएको छ ।

कञ्चनपुरकी एक महिला आफ्नी आठ वर्षीया बलात्कृत छोरीलाई लिएर साउन चार गते अस्पताल पुगिन् तर, अस्पतालमा चिकित्सकहरूको व्यवहार देखेर अचम्मित परेँ उनले आफ्नो कथा सुनाइन ‘अस्पतालमा छोरीको चेकजाँच राम्रोसँग होला भनेर गएकी थिएँ, तर चिकित्सकले नै थप पीडा दिए । ती महिलाले त्यो दिन स्मरण गर्दै भन्नुभयो-छोरीलाई धेरै पीडा भइरहेको थियो । केही औषधि लेखेर दिन्छन् की भनेर बेडमा बसिरहेको थिएँ, एक्कासि ती चिकित्सक झोक्किएर बोल्न थाले ।‘तपाइँकी छोरीलाई केही भएको छैन । घर जानुस् । पटक–पटक आउने काम नगर्नुहोस् ।

उहाँले अस्पतालमा छोरीले राम्रो उपचार नपाएकोमा नभएर चिकित्सकको व्यवहारले पीडा दिएको बताइन् । उनी त्यो दिनपछि (१० गते) बिहीबारमात्र एक संस्थाको सहयोगमा छोरीलाई लिएर अस्पताल आउनुभएको थियो । उहाँले बताउनु भयो, अस्पतालमा चिकित्सकको त्यस्तो व्यवहार देखेपछि आफ्नै क्षेत्रमा रहेको पोलिक्लिनिकमा छोरीको चेकजाँच गराएँ ।

त्यस्तै गुनासो धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की गौरी अधिकारीको छ । मङ्गलबार राति अत्यधिक ज्वरो आएपछि उपचारका लागि आफन्त र उहाँकै घरमा डेरा गरी बस्नेहरूले सेती अञ्चल अस्पताल पु¥याए । ‘मध्यरात १२ बजे बिरामी गौरीलाई बोकेरै अस्पताल पु¥याउँदा इमर्जेन्सी वार्डमा एकजना डाक्टर रहेको र बिरामीका कुरुवाहरूले उहाँसँग चेकजाँचका लागि अनुरोध गरे तर डाक्टरको जवाफ थियो मैले अघि नै हेरिसकेँ । टाढैबाट बिरामीलाई हेरेका डाक्टरले न जाँच गरे न के समस्या थियो त्यसको बारेमा नै जानकारी दिए तर पनि डाक्टरले ज्योतिषको जस्तै टाढैबाट बिरामीलाई हेरेर चेकजाँच गरेको जवाफ दिए ।

गौरीको ज्वरो ठीक हुनुको सट्टा झन् बढ्दै गएपछि धेरै अनुरोधपछि इमर्जेन्सी वार्डमा ओजेटी गर्न आएका प्रशिक्षार्थी स्वास्थ्यकर्मीले अलि–अलि हेरे जस्तो गरे र पर्चीमा एउटा औषधि पनि लेखिदिए । राति सबै क्लिनिकहरू बन्द भएपछि औषधि कहाँ पाइन्छ ? भन्ने प्रश्न सोध्नका लागि गौरीका कुरुवाले कोही पनि स्वास्थ्यकर्मी भेटाएनन् । एकछिन अघिका स्वास्थ्यकर्मी कता हराइसकेका थिए ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाकी नरमाया विकले सेती अञ्चल अस्पतालको सामाजिक स्वास्थ्य इकाइबाट औषधि सिफारिस गराई फार्मेसीमा औषधि लिन जानुभयो तर, उहाँले फार्मेसीबाट कुनै औषधि नपाएको बताउनुभयो । फार्मेसीमा सामान्य सिटामोल पनि छैन भनेर फिर्ता पठाए उहाँले भन्नुभयो ।

नजिकको क्लिनिकबाट औषधि किनेर ल्याएँ । अस्पतालमा चिकित्सकले बिरामीसँग राम्रो व्यवहार नगर्नु, अस्पतालमा उपचारका लागि आएका बिरामीले राम्रोसँग उपचार नपाउनु, फार्मेसीमा औषधि नपाउनुलगायतका कारणले अस्पतालप्रति आम नागरिकको विश्वास कम हुने गरेको छ ।

धनी व्यक्ति त बाहिर सुविधायुक्त अस्पतालमा गएर पनि ठूलो रकम खर्च गरेर सेवासुविधा लिन सक्छन् । नरमायाले भन्नुभयो हामीजस्ता गरिब अस्पतालमा राम्रो उपचार पाइन्छ भनेर आउँछौँ, तर डाक्टर र अस्पताल व्यवस्थापनको कमजोरीका कारण दुःख पाउनुपर्छ । तर सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सजन केसीले अस्पतालमा कार्यरत कर्मचारीहरूलाई बिरामीसँग नराम्रो व्यवहार नगर्न आग्रह गरिरहेको बताउनुहुन्छ । उहाँले प्रदेशकै रेफरल अस्पताल भएकाले व्यवस्थापनमा केही कमजोरी रहेको स्वीकार गर्नुभयो ।

अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी आउँछन् उहाँले भन्नुभयो जनशक्ति, भवन र स्रोत साधनको कमीले अस्पताल व्यवस्थापनमा कमजोरी देखिएको छ । सेती अञ्चल अस्पताललाई प्रदेशको सुविधासम्पन्न अस्पताल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

स्रोत : गोरखापत्र