भरतपुर चितवन बैशाख ३०, चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उहाँले बताउनुभयो ।
यस्तै खैरेनी नगरपालिकाको पर्सा बजार र राप्ती नगरपालिकाको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि शक्तिशाली बम विस्फोट भएको छ । दुवै विस्फोटबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
बन्दका कारण चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंमा पनि आम्सिक असर परेको छ ।