images
images

श्रीनिवास अस्पतालबाट डिस्चार्जः आक्रमणकारी अझै फेला परेनन्

गोली प्रहारबाट घाइते भएका धर्मगुरु आचार्य श्रीनिवास २१ दिनपछि आज डिस्चार्ज भएका छन् ।

गत चैत २५ गते बिहान अज्ञात समूहले गोली प्रहार गरेर विराटनगरमा श्री निवासाचार्यलाई घाइते बनाएको थियो । उनको दायाँ छातीमाथि कुम नजिकै गोली लागेको थियो।

स्वास्थ्य अवस्थामा सुधार भएपछि अस्पतालबाहिरै बसेर आराम गर्ने गरी विराटनगरको न्युरो अस्पतालले उनलाई डिस्चार्ज दिएको हो ।

डिस्चार्जपछि प्रतिक्रिया दिंदै उनले आफूमाथि गोली प्रहार हुँदा दुःख व्यक्त गर्ने र सहयोग गर्ने सम्पूर्ण तथा उपचारमा उल्लेख्य भूमिका खेल्ने अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल सरकारले धर्मगुरु श्री निवासाको उपचार खर्च व्यहोर्ने भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुको उपचारमा लागेको सबै खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिइएको हो।

उनको उपचारका क्रममा १ लाख ३० हजार रुपैयाँ र औषधिमा २५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।

गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा हालसम्म पाँच जनालाई प्रहरीले पक्राउ गरेको तर उनीहरुको संलग्नता भने पुष्टि नभएको मोरङ प्रहरीले बताउँदै आएको छ ।

श्रीमद् भागवत् सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । उनी चर्चित हिन्दु धर्मगुरु हुन् ।