बुटवल फाल्गुन २६,फ्रेन्डस् क्लब बुटवलमा जारी २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा कास्की-११ लाई १-० को झिनो अन्तरले पराजित गर्दै फ्रेन्ड्स प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा विदेशी खेलाडी जोनल ग्लोरीले खेलको २८औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सलाई क्वार्टरफाइनल पुग्न निर्णायक बन्यो । सुनिल श्रेष्ठले मिलाइदिएको पासमा ग्लोरीले टोलीका लागि महत्वपूर्ण गोल गरेका थिए । यद्यपि फ्रेन्ड्सले खेलमा प्राप्त आधा दर्जन राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा जितको अन्तर भने बढाउन सकेन ।
कास्कीका गोल रक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्ड्सको आक्रमणलाई असफल तुल्याएका थिए । खेलको ३९औं मिनेटमा ग्लोरीको सशक्त प्रहार क्रस बारमा लागेर फर्किएको थियो । कास्कीले पनि खेलमा केही राम्रा अवसर खेर फालेको थियो । खेलको ५२औं मिनेटमा कास्कीका त्रिदेव गुरुङको प्रहार पनि साइड बारमा लागेर फर्किएको थियो । टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका फ्रेन्ड्सका वसन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत शनिबार रूपन्देही-११ र नवलपरासी-११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले सात लाख ७७ हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले चार लाख ४४ हजार पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तिलोत्तमा गोल्डकपमा शनिबार पहिलो क्वार्टरफाइनल
रुपन्देहीविरुद्ध नवलपरासी