images
images

भैरहवालाई लोडसेडिङ मुक्त क्षेत्र गर्ने तयारी

भैरहवा, फाल्गुण ७:- अगामी नयाँ वर्षदेखि भैरहवा क्षेत्र लोडसेडिङ मुक्त गरिने तयारी थालिएको छ।भैरहवा क्षेत्रमा खपत हुने अवाश्यक विद्युत आपूर्ति गरेर लोडसेडिङ मुक्त गरिने तयारी थालिएको हो।

गर्मीयाममा दैनिक ८ घण्टा र जाडोयाममा दैनिक ३ घण्टा भैरहवा क्षेत्रमा लोडसेडिङ हुँदै आएको छ।जसका कारण सर्वसाधरणदेखि लिएर औद्योगिक क्षेत्र समेत प्रभावित हुँदै आएका छन्।

तर, अगामी बैशाख महिनादेखि भैरहवालाई लोडसेडिङ मुक्त क्षेत्र बनाउने तयारी भइरहेको भैरहवा विद्युत प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले बताए।

लोडसेडिङ्ग मुक्त गराउनका लागि भैरहवा क्षेत्रमा दैनिक १ सय २० मेगावाट विद्युतको आवश्यकता रहेको छ। र, सोही बराबरको विद्युत आपूर्ति गरेर प्राधिकरणले भैरहवा क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने योजनाअनुसार काम अगाडी बढाएको छ।

गर्मीयाममा १ सय २० मेगावाट विद्युत आवश्यक रहेकोमा प्राधिकरणले ८० मेगावाट विद्युत मात्र वितरण गर्न सकिरहेको छ।मागभन्दा कम वितरण भइरहेको कारण प्राधिकरणलाई लोडसेडिङ्ग गर्नुपर्ने बाध्यता रहेको छ। तर अब प्राधिकरणले ३ वटा योजनाअन्‍तर्गत भैरहवालाई लोडसेडिङ मुक्त बनाउने योजना बनाएको छ।

पहिलो भैरहवास्थित विशेष अर्थिक क्षेत्र (सेज) मा आपूर्ति हुने ३३ केभिए लाइन (वितरण प्रणाली सुदृद्धिकरण तथा विस्तार आयोजना), दोस्रो भैरहवा विमानस्थलका लागि आपूर्ति हुन लागेको बुटवल–भैरहवा ३३ केभिए लाइन र तेस्रो बुटवल–लुम्बिनी एक सय ३२ केभिएर प्रसारण लाइन आयोजना रहेको छ।

पहिलो सेज, सेजमा आपुर्ति हुने ३३ केभिएर डबल सर्किटको विद्युत बुटवलको जोगिकुटीबाट आपुर्ती हुने हो। यसबाट ४० मेगावाट विद्युत आपूर्ति हुनेछ।

सेजसम्म विद्युत आपूर्ति गर्नका लागि जोगिकुटीबाट रोहिणी गाउँपालिकाको धकधकईमा निर्माणधिन सब स्टेशनमा एउटा आयोजनाले कार्य गरिरहेको छ भने धकधईबाट सेजसम्म विद्युत पुर्याउनका लागि प्राधिकरणले टेण्डर आह्वान गरेर काम सुचारु गरिसकेको जनाएको छ।

जोगिकुटीबाट धकधईसम्म विद्युत ल्याउनका लागि विद्युत पोलहरु ठड्याउने कार्य जारी छ। ४ सय ५० वटा विद्युत पोल ठड्याइसकेको र करिब एक सय वटा पोल ठड्याउन बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ।

त्यस्तै धकधईबाट सेजसम्म विद्युत आपुर्ती गर्नका ४ सय वटा विद्युतिलय पोल आवश्यकता रहेकोमा ५० वटा विद्युतिय पोल ठड्याइसकेको छ। यस लाइनबाट ४० मेगावाट विद्युत आपुर्ती हुनेमा सेजलाई २० मेगावाट मात्र विद्युत आवश्यक रहेको छ।

बाँकी बचेको २० मेगावाट विद्युतले लोडसेडिङ मुक्त गर्नका लागि उपयोग गरिने योजना रहेको प्रमुख ठाकुरले बताए। उनका अनुसार कुनै समस्या नआएमा सेजमा करिब २ महिना विद्युत आपूर्ति हुनेछ।

यता वितरण प्रणाली सुदृद्धिकरण तथा विस्तार आयोजनाका प्रमुख विश्वरन्जन मिश्राले आयोजनाको काम सम्पन्न गर्नमा केही समस्या रहेपनि करिब बैशाखसम्म काम सम्पन्न हुने बताए।

जोगिकुटीदेखि धकधईको बिचमा शंकरनगर सामुदायिक वन परेको कारण वनको प्रारम्भिक वातावरणीय अध्यनन (आईइइ) गरेर मात्र कार्य गर्नुपरेको कारण वनको आईइइगर्ने प्रक्रियामा रहेको र आइइइ रिपोर्ट जति चाँडो आएमा त्यती चाँडो काम सम्पन्न हुने उनको भनाइ छ।

करिब २ महिना पश्चात सेजमा आपूर्ति भएमा सेज संचालनमा ल्याउनका लागि सेजमा आवश्यक उद्योगको भौतिक संरचना निर्माणका लागि पनि करिब ६ महिना समय लाग्नेछ। उक्त समयसम्म सेजमा आपूर्ति हुने विद्युत भैरहवा वितरण केन्द्रले प्रयोग गरी लोडसेडिङ मुक्त गराउन प्रयोग गर्न सक्ने देखिन्छ।

त्यस्तै विद्युतको दोस्रो योजना भैरहवा बुटवल ३३ केभिए नयाँ सर्किट रहेको छ। जुन भैरहवा विमानस्थलका लागि आवश्यक विद्युत जोगिकुटी केन्द्रबाट आउँदैछ।

यसको लागि टेण्डर आह्वान गरेकोमा लागतभन्दा बढीको टेण्डर परेको कारण टेण्डर खारेज गरिएको र पुन एक हप्ताभित्र अर्को टेण्डर आह्वान गरिने प्रमुख ठाकुरले बताए।

यसमा बुटवलको जोगिकुटीबाट प्राधिकरणको पोलबाटै नयाँ तार राखेर भैरहवा वितरण केन्द्रसम्म विद्युत आपूर्ति हुने हो।यो सर्किटबाट २० मेगावाट विद्युत आपूर्ति हुनेछ।

जसमध्ये निर्माणधिन भैरहवा विमानस्थलले तत्कालका लागि ३ मेगावाट मात्र विद्युत माग गरेको छ। र , बाँकी रहेको १७ मेगावाट विमानस्थलाई आवश्यक नरहेसम्म उक्त विद्युतलाई उपयोग गरी भैरहवा क्षेत्रमा वितरण गरिने प्रमुख ठाकुरले बताए।

यो सर्किटबाट आउने विद्युत भैरहवा बुटवल सडकखण्डमा अवस्थित सडकको पश्चिम तर्फको प्राधिकरणको आफ्नै विद्युत पोलबाट ल्याउने हुँदा यसमा कुनै समस्या नहुने र करिब २ महिना भित्र विद्युत आपूर्ति हुने उनले बताए।

गर्मीयाममा ८० मेगावाट मात्र विद्युत वितरण गर्न सकिरहेको भैरहवा वितरण केन्द्रले सेजबाट २० मेगावाट बढी विद्युत र विमानस्थलको १७ मेगावाट विद्युत गरी ८० मेगावाटमा ३७ मेगावाट बढी विद्युत थप गरेर भैरहवालाई एक सय २० मेगावाट विद्युत वितरण गरेर लोडसेडिङ्ग मुक्त गराउने छ।

त्यस्तै विद्युत तेस्रो योजनाअन्र्तगत बुटवल–लुम्बिनी एक सय ३२ केभिएर प्रसारण लाइन आयोजना रहेको छ।यो पनि बुटवलको जोगिकुटीबाट तिनाउ खोलासम्म अन्डरग्राउण्ड विद्युत आउने र त्यसपछि तिनाउ खोलाको किनारबाट हुदै मैनहियामा निर्माणधिन सब स्टेशनसम्म आउनेछ।

यसमा १ सय ३२ केभिए लाइनबाट ९० मेगावाट विद्युत आपुर्ती हुनेछ। मैनहिया स्थित सब स्टेशनको निर्माण र लाइनको सम्झौता भइसकेको आयोजनाका प्रमुख हरि पाण्डेले बताए।

उनका अनुसार सम्झौता भएको मितीले २ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ। तत्कालको लागि ९० मेगावाट विद्युत आपुर्ती हुने भएपनि यो लाइनबाट २ सय मेगावाट सम्म विद्युत आपूर्ति गर्न सकिने गरी संरचना निर्माण हुने प्रमुख पाण्डेले बताए।

यो आयोजना सम्पन्न भएपश्चात भैरहवा क्षेत्रलाई आवश्यक जति विद्युत यही लाइनबाट आपुर्ती हुनेछ। एक सय ३२ केभिए लाइन आपूर्ति भएपछि भैरहवा क्षेत्रलाई करिब १० वर्षसम्म विद्युतको समस्या हुने छैन प्राधिकरणका प्रमुख ठाकुरले अन्नपूर्ण पोस्टसँग भने।

प्राधिकरणको भैरहवा वितरण केन्द्रले भैरहवा, लुम्बिनी, मर्चवार, धकधई, अमवा, मणिग्राको पूर्वी क्षेत्र र नयाँ मिलको केही क्षेत्रमा विद्युत वितरण गर्ने गर्दछ।

जसअन्तर्गत भरवलिया सब स्टेशनमार्फत विद्युत वितरण हुने मणिग्रामको पूर्वी क्षेत्र, लुम्बिनी र धकधई क्षेत्र यस अघि नै लोडसेडिङ्ग मुक्त भइसकेको र अब अन्य क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउने तयारी थालिएको उनले बताए।