काठमाडौँ, माघ २६:- लभस्टोरीमा बनाइएका चर्चित फिल्महरु, जुन भ्यालेन्टाइन डेलाई आकर्षक छन
१. पीएस आई लभ यु
रिचार्ड लाग्रेभनिजको निर्देशन रहेको असाधारण लभ स्टोरी फिल्म ‘पीएस आई लभ यु’ ले मृत्युलाई समेत जितेको एउटा शक्तिशाली प्रेमकथाको वर्णन गर्छ । बिरामी भएर पतिको मृत्युपछि जवान पत्नीले
आफ्नो जीवन उत्सर्ग गरेको कथा फिल्मले समेटेको छ । सन् २००७ मा निर्मित यस फिल्मलाई ३ वर्षअघि नै सिसिलिया अहर्नले लेखेको उपन्यासमा आधारित रही बनाइएको हो । फिल्मको पटकथा पनि निर्देशक स्वयं स्टेभेन रोजर्ससँग मिलेर लेखेका हुन् । फिल्ममा जेरार्ड बटलर र हिलारी स्वांकको मुख्य अभिनय रहेको छ ।
२. इट, प्रे, लभ
अमेरिकी लेखिका एलिजावेथ गिलबर्टको संस्मरणमा आधारित फिल्मको केन्द्रीय भूमिकामा जुलिया रोबर्ट्सले अभिनय गरेकी छन् । पति, घर र सफल करिअरका कारण आफूलाई सुखी ठानिरहेकी गिलबर्टको जब डिभोर्स हुन्छ, जीवनले कोल्टे फेर्छ । हिजोसम्म जे सुख ठानिरहेकी हुन्छे, एकल महिला भएपछि ती सबै व्यर्थ लाग्छन् । अन्त्यमा, आत्माको शान्तिको खोजीमा गिलबर्ट इटाली, भारतदेखि इन्डोनेसियालगायत देशको भ्रमणमा निस्किन्छे । सन् २०१० को उक्त फिल्मलाई रायन मर्फीले निर्देशन गरेका हुन् भने पटकथामा निर्देशक स्वयं, लेखिका गिलबर्ट र जेनिफर साल्टले मिलेर तयार पारेका हुन् ।
३. नटिङ हिल
साधारण पुस्तक पसलेले जब संसारकै चर्चित हलिउड नायिकालाई भेट्छ तब उसको जीवनमा आउने परिवर्तनलाई फिल्म ‘नटिङ हिल’ मा देख्न सकिन्छ । नेम, फेम कमाइसकेकी एउटी नायिकाले साधारण पसलेसँगको अप्ठ्यारो प्रेम सम्बन्धबाट पाएको खुसीलाई रिचार्ड कुर्टिसको पटकथामा बाँधिएको छ । रोजर मिचेलले निर्देशन गरेको फिल्ममा जुलिया रोबर्ट्सले हलिउड नायिकाको भूमिका निर्वाह गरेकी छन् भने पुस्तक पसलेको भूमिकामा हग ग्रान्ट देखिएका छन् । सन् १९९९ मा रिलिज भएको यस बेलायती फिल्म त्यसताका देशभित्र सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको थियो ।
४. केट एन्ड लियोपोल्ड
केट र उनका भाइ २१ औं शताब्दीमा न्युयोर्कमा बस्छन् । केटको पूर्वप्रेमी स्टुआर्ट पनि सोही अपार्टमेन्टको माथिल्लो तलामा बस्छन् । एक दिन स्टुआर्टले ब्रुकलिन ब्रिजमा एउटा खाली ठाउँ भेट्छ र त्यहींबाट ऊ १९ औं शताब्दीमा प्रवेश गर्छ । १८७० को समय बाँचिरहेको लियोपोल्ड स्टुआर्टको हातको सानो क्यामेरा देखेर पछि लाग्छ र उससँगै २१ औं शताब्दीमा छिर्छ । वरिपरिको वातावरणले अन्योलग्रस्त बनेको लियोपोल्डपछि अर्कै शताब्दीमा बाँचिरहेकी केटसँगको प्रेममा पर्छ । जेम्स म्यानगोल्डको निर्देशन रहेको उक्त फिल्ममा केटको भूमिकामा मेग रायन र लियोपोल्डको भूमिकामा हग ज्याकम्यानले अभिनय गरेका छन् ।
५. टेन थिङ्स आई हेट अबाउट यु
खासगरी टिन–एजर्सले बढी रुचाउने यो रोमान्टिक कमेडी फिल्मलाई गिल जुंगरले निर्देशन गरेका हुन् । विलियम शेक्सपियरले १६ औं शताब्दीमै लेखेका ‘द ट्यामिङ अफ द स्रिउ’ लाई रिमेक गरिएको फिल्मका चरित्रहरू अविस्मरणीय छन् । फिल्मका मुख्य दुई कलाकार हेथ लेजर र जुलिया स्टिल्स यसै फिल्मबाट स्थापित बनेका थिए ।
६. यु ह्याभ गोट मेल
दुई व्यापारिक प्रतिस्पर्धी एकआपसमा घृणा गर्छन् तर दुवैको जानकारीबिनै इन्टरनेटमा भने एकअर्काबीच मायाप्रेम बस्छ । एकअर्कालाई नचिन्दै भएको च्याटले दुवैलाई भर्चुअल वल्र्डमा घनिष्ठ प्रेमीप्रेमिका बनाउँछ । र, समयसँगै उनीहरूले वास्तविकता थाहा पाउँछन् । नोरा इफ्रोनको निर्देशन रहेको ‘यु ह्याभ गोट मेल’ मा टम हाङ्क्स र मेग रायनले मुख्य भूमिका निर्वाह गरेका छन् । सन् १९९८ मा ६ करोड ५० लाख डलरमा बनेको यस फिल्मले २५ करोड डलरको व्यापार गर्नुका साथै समीक्षकबाट समेत राम्रो तारिफ पाएको थियो ।
७. टाइटानिक
जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्म ‘टाइटानिक’ लाई २० औं शताब्दीकै उत्कृष्ट फिल्मसमेत मानिन्छ । लियोनार्दो डिक्याप्रियो र केट विन्सलेटको मुख्य भूमिका रहेको फिल्मले पानीजहाजमा यात्रा गर्ने क्रममा एक जोडीमा झाँगिएको प्रेम, रोमान्स र हिउँमा ठोक्किएर जहाज डुब्दा प्रेममा आएको वियोगको स्थितिसम्म उतारिएको छ । १४ विधामा ओस्कार मनोनयनमा परेको यस फिल्मले उत्कृष्ट फिल्म, निर्देशकसहित ११ वटा अवार्ड जितेको थियो ।
८. प्रिटी वुमन
रिचार्ड गेर र जुलिया रोबर्ट्सको मुख्य भूमिका रहेको फिल्ममा एक धनी, ह्यान्डसम र चार्मिङ पुरुषको एक वेश्यासँगको प्रेम सम्बन्धलाई देखाइएको छ । एकल पुरुषको जीवन बाँचिरहेको एडवार्ड लेविसले सुन्दर तर मुखाले विवियन वार्ड नाम गरेकी वेश्यालाई आफू बसेको महँगो होटलमा ल्याउँछ । पैसा दिएर एक साताका लागि आफूसँगै बस्न प्रस्ताव गर्छ । पछि एडवार्डले वार्डको कपडाका लागि समेत पैसा खर्चिन्छ । छिटै उनी एक सुन्दर महिलासँगै सम्माननीय महिलाका रूपमा समेत देखिन्छिन् र एडवार्ड साथीहरूको आलोचनाका बाबजुद पनि वेश्यासँगको प्रेममा डुब्छ । सन् १९९० मा ग्यारी मार्शलले निर्देशन गरेको १ करोड ४० लाख डलरको यस फिल्मले त्यसताका ४६ करोड ३० लाख डलरको व्यापार गरेको थियो ।
९. लिजेन्ड्स अफ द फल
एडवार्ड ज्वीकको निर्देशन रहेको यस फिल्मले ट्रिस्टनको जीवनीलाई पछ्याएको छ । भाइ स्यामुएलको डब्लूडब्लूआईमा निधन भएपछि डिप्रेसनमा गएको ट्रिस्टनले पछि भाइकै मंगेतर सुशानाहसँग प्रेम सम्बन्ध गाँस्न पुग्छ । तरबेचैनीले तड्पिरहेको ट्रिस्टनले पछि उनलाई छोडिदिन्छ र अन्य महिलासँग सम्बन्ध गाँस्छ । तर सुशानाहसँगको जस्तो प्रेम पाउन सक्दैन । उक्त कुरा महसुस हुँदा सुशानाहले विवाह गरिसकेकी हुन्छे । खासगरी ‘लिजेन्ड्स अफ द फल’ प्रेम सम्बन्ध वरिपरि नै घुमेको छ । ट्रिस्टनको भूमिकामा ब्राड पिटले खेलेका छन् भने सुशानाहको भूमिकामा जुलिया ओर्मोन्ड रहेकी छन् ।
१०. ब्रोकब्याक माउन्टेन
आङ लीको निर्देशन रहेको ‘ब्रोकब्याक माउन्टेन’ लाई लभस्टोरी फिल्ममा एउटा क्रान्ति र ओजिलो कदम मानिन्छ । फिल्मले दुई पुरुषको प्रेम सम्बन्धलाई दर्शाएको छ । हेथ लेजर र जेक ग्लेनहालको अभिनय रहेको उक्त फिल्मले दुईबीचको प्रेम अंकुरण र सामाजिक नियम र मान्यतलाई च्यातेर कसरी आफ्नो लक्ष्यमा पुग्छन् भनी देखाइएको छ । यसै फिल्मबाट आङ लीले ओस्कार अवार्डसमेत जितेका थिए भने बक्सअफिसमा समेत १ करोड ४० लाख डलर बजेटको फिल्मले झन्डै १८ करोड डलर संकलन गरेको थियो ।