पोखरा माघ १८,चार नम्बर प्रदेशको मुकाम पोखरामा आजैदेखि केही मन्त्रालय सञ्चालनमा आउने भएका छन् । स्थानीय प्रशासनले विभिन्न सरकारी कार्यालयमा मन्त्रालय सञ्चालन गर्ने गरी तयारी टुंग्याएको हो ।पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनका विभिन्न कोठामा बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चालनमा ल्याइने प्रमुख सचिव लक्ष्मण अर्यालले बताए । ‘बिहीबार प्रमुख सचिवको पदबहालीलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आवश्यक कामकारबाही थाल्नेछन्,’ उनले भने, ‘त्यसपछि राजनीतिक दलका नेता तथा केही सांसदलाई समेत मन्त्रालय कक्ष अवलोकन गराइनेछ ।’ उक्त भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत रहने भएको छ ।
यसैगरी हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिने भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय र वन कार्यालयको निर्माणाधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएकै भवनलाई मन्त्रालय बनाइने सहक्षेत्रीय प्रशासक बाबुराम गौतमले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव ओझाले अहिलेसम्म २ वटा मन्त्रालय व्यस्थापन भएको र केहीदिनभित्रै अरु पाँचवटा मन्त्रालय पनि खोलिने बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव पोखरेलले २१ जना कर्मचारी तोकिएपनि अहिलेसम्म आफू मात्र पोखरा आईसकेको बताए।