नेपालीहरु माघे सक्रान्ती पर्व मनाउने तयारीमा छन् । विदा मनाउन सरकारले सार्वजनिक विदा पनि दिएको छ । तर, खानपिन गरेर विदा मनाउनको लागि भान्सा निकै महंगो भएको छ ।
दुई साताको अवधिमा बजारमा तरकारीको भाउ निकै आकासिएको छ । कालिमाटी तरकारी बजारमा मागको आधारमा तरकारी आपूर्ति नभएपछि उपत्यकामा तरकारीको भाउ एक्कासी बढेको हो । प्रनिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि सस्तिएको तरकराीको भाउ अहिले फेरी एकाएक बढेको छ । तरकारी किलोमा २० देखि १ सय ५५ प्रतिशतसम्म मूल्य बढेको छ ।
सबैभन्दा महंगो घिउ सिमी भएको छ । ४५ रुपैयाँ किलोको घिउ सिमी बढेर १ सय १५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
कालिमाटी तरकारी बजारमा गोडभेंडाको भाउ आइतबार ६३ रुपैयाँ पुगेको छ । दुई साताको अवधिमा ३५ रुपैयाँबाट ८० प्रतिशत बढेको हो । खुल्ला बजारमा त गोलभेंडा ७० देखि ८० रुपैयाँ किला बिक्री भएको छ । बन्दाको मूल्य करिब २८ प्रतिशत, काउली ५२, भन्टा ५२, घिउ सिमी एक सय ५५, टाटे सिमी, करेला, लौका ४० प्रतिशतले भाउ बढेको छ । बन्दाको मूल्य ४३ बाट बढेर ५५ रुपैयाँ किलो, काउली र भन्टा ३८ बाट बढेर ५८ रुपैयाँ पुगेको छ ।
माघे संक्रान्तिमा तरुलको तरकारी खाने प्रचलन भएकाले तरुलको खपत पनि निकै बढेको छ । दैनिक करोडौं रुपैयाँको तरुल राजधानी भित्रिएको छ । माघे संक्रान्तिमा करिब १५ करोड रुपैयाँको तरुल बिक्री हुने व्यापारीले अनुमान गरेका छन् । कालीमाटीमा तरुलको मूल्य किलोको ५० रुपैयाँ तोके पनि खुल्ला बजारमा निकै महंगो छ ।
चाडबाडको बेलामा सधैं बजारमा तरकारीको भाउ बढ्ने गरेको छ । व्यापारीले तरकारीमा न्यूनतम १० देखि अधिकतम २० प्रतिशत नाफा राखेर बेच्ने दाबी गरे पनि बजारमूल्यमा पनि एक रुपता छैन । उपत्यकाको बजारमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट तरकारी आउँछ । यहाँको उत्पादनले नथेगेपछि भारतबाट पनि तरकारी आयात हुने गरेको छ । उपत्यकाको कालिमाटी तरकारी बजार, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखे लगायतका क्षेत्रमा होलसेल तथा खुद्रा बिक्री हुन्छ । त्यहाँबाट शहरका भित्री गल्लीमा पुग्दा अचाक्ली मूल्य लिएर बेच्ने गरेका छन् ।
मूल्यवृद्धि नियन्त्रणमा सरकारी प्रयास फितलो हुँदा व्यापारीले मनपरी मूल्य बढाइरहेका छन् । उत्पादन घटेको र खरिद मूल्य महंगो भएको बहानामा तरकारीको मूल्य धेरै लिन्छन् ।
टुकुचा तरकारी बजारका व्यापारी प्रमिला थापाले खरिद महंगो भएकाले धेरै मूल्यमा बेच्न परेको बताइन् । तरकारीको भाउ बढेपछि किनेर खानुपर्नेमाथि व्ययभार थपिएको छ । तरकारीको भाउ बढेपछि खर्च चलाउन हम्मे परेको शंकरदेव क्याम्पसमा पढ्ने मनिता शर्माले बताइन् । ‘विद्यार्थीको किनेर खाने हैसियत छैन’, शर्माले भनिन् । उपत्यकाको खुला बजारमा अहिले २०÷२५ रुपैयाँ पाउभन्दा सस्तो हरियो तरकारी पाउनै मुस्किल छ । मूल्य अचाक्ली बढेपछि तरकारी पाउमा किन्न थालेका छन् ।
तरकारीको उत्पादन कम भएकाले महंगो भएको कृषि विभागका महानिर्देशक डिल्लिराम शर्मा बताउँछन् । शर्माले यो वर्ष कृषि क्षेत्रमा स्थानीय तह मार्फत पठाएको बजेट किसानको लागि खर्च नहुँदा तरकारी उत्पादनमा असर परेको दाबी गर्छन् । विगतमा आर्थिक वर्षको सुरुवातमा किसानलाई तरकारी तालिम र बीउविजन किनेर दिने गरेकोमा यो वर्ष त्यसो हुन नसक्दा उत्पाद घटेको शर्माको तर्क छ ।