२०७४ वैशाख ९ – आज दिउँसो तीन बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको सरकार र मधेसी मोर्चाबीचको बैठक सकारात्मक दिशातर्फ अघि बढेको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
संसदमा दर्ता भएको संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्न, मधेसमा स्थानीय तहको संख्या बढाउन र दुई चरणमा निर्वाचन गर्न सरकार सकारात्मक देखिएपछि मोर्चा र सरकारबीच आज हुने भनिएको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।
शुक्रबार राति यी बिषयमा दुवै पक्षबीच सझदारी बनेपछि आज टुंगोमा पुग्ने गरी वार्ता बसेको हो ।
आजको बैठकमा सरकारले संशोधन विधेयक फास्ट ट्र्याकबाट पारित गर्न केही समय लाग्ने, मधेसमा दुई स्थानीय तहको संख्या थपेर दुई चरणमा निर्वाचन गर्न सकिने र प्रस्तावित संघीय आयोगको कार्यविधिबारे टुंगो लगाउन सहमति जनाएपछि मोर्चा नेताहरु अहिले बालुवाटारमा छुट्टै बैठक बसिरहेका छन् ।
मोर्चा नेता लालबहादुर राउत र बृजेशचन्द्र लालले जनकपुरमा रहेका आफ्ना नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवसँग टेलिफोन परामर्श लिइरहेको बैठकमा सहभागी नेताले बताएका छन् ।
बालुवाटारमा सत्तारुढ दलका नेताहरुको बैठक पनि जारी छ ।
आजको बैठकले सहमति जुटाउन सके भोलि बिहानै मोर्चा नेता ठाकुर र यादवलाई काठमाडौं बोलाउन सकिने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।
बैठकमा सहभागी मोर्चा नेताले सहमतिको खाका लगभग टुंगो लागिसके कान्तिपुरलाई बताए ।
बैठकमा सहभागी भएपछि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै वार्ता सकारात्मक गतितिर गइरहेको बताए ।
बैठकमा सहभागी नेताहरुका अनुसार संविधान संशोसनको प्रस्ताव संशोधनसहित पारित गर्न सरकार तयार भइसकेको छ ।
आज सहमति हुन सके स्थानीय निकायको निर्वाचन दुई चरणमा हुने बैठकमा सहभागी नेताले बताएका छन् ।
सत्ता पक्षबाट प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेताहरु छन् । मोर्चाको तर्फबाट राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, वृषेशचन्द्र लाल, केशव झा लगायतका नेताहरु सहभागी छन् ।


जनता भ्वाइस 









