images
images

रोनाल्डोको एक सातामा दोस्रो किर्तिमान

२०७४ वैशाख ६– रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अर्को ठूलो उपलब्धी हात पारेका छन्। उनी क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्।

रोनाल्डोले मंगलबार राती (नेपाली समयअनुसार बुधबार बिहान) जर्मनी क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिगमा आफ्नो सयौं गोल पुरा गरेका हुन्।

उनले यो उपलब्धी १ सय ३७ खेलमा प्राप्त गरेका हुन्। उनको पहिलो गोल रोमाविरुद्ध सन् २००७ को च्याम्पियन्स लिगमा थियो। त्यतिबेला उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध थिए।

उनले म्युनिखविरुद्ध पहिलो लेगको खेलमा पनि २ गोल गरेका थिए। त्यतिबेला पनि उनी युरोपेली प्रतियोगितामा सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका थिए। एक साताको दौरान रोनाल्डोको यो दोस्रो ठूलो उपलब्धी हो। आजको ह्याट्रिक पछि उनले च्याम्पियन्स लिगमा ह्याट्रिक संख्या ६ पुर्याएका छन्। च्याम्पियन्स लिगमा ज्यादा ह्याट्रिक गर्ने मामिलामा लिओनल मेसी अगाडि छन्। उनले ७ ह्याट्रिक गरेका छन्।

तर, एउटै सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा दुई वटा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। गत सिजन उनले क्वाटरफाइनलमै ह्याट्रिक गरेका थिए।
मेसीको च्याम्पियन्स लिगमा ९४ गोल छ ।