images
images

कैलाश विकाश बैंकको करोडौं रुपैया अनियमितता गरी शाखा प्रमुख बेपत्ता

२०७४ वैशाख ६– कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका प्रमुख रविचन्द्र खनाल करोडौं रुपैयाँ अनियमितता गरी बेपत्ता भएका छन् । चैत मसान्तसम्मको त्रैमासिक हिसाबकिताब बन्द गरेलगत्तै उनी बेपत्ता भएका हुन् ।

शाखा प्रमुख बेपत्ता भएपछि बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेको छ । बैंकले मंगलबार कास्की प्रहरीमा पनि उजुरी गर्दै शाखा प्रमुख खनाल बिना सूचना सम्पर्कविहीन बनेको र आर्थिक अनियमितता गरेको उल्लेख गरेको छ ।

ग्राहकले खातामा जम्मा गरेको रकम हिनामिना गरेको र खातामा जम्मा गर्न भनेको पैसा आफैंले चलाएको, सर्वसाधारण र सहकारीबाट पनि मोटो रकम लिएर खनाल वेपत्ता भएको आरोप छ । ‘आइतबारदेखि अफिस आउनुपर्ने नआएपछि प्रहरीमा खबर गर्‍यौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण लामिछानेले अन्नपूर्णसँग भने ।

चैत मसान्तमा ३ महिने हिसाबकिताब गर्न खनाल कार्यालयमा बेलुका ७ बजेसम्मै बसेका थिए । सहकर्मीहरुलाई आइतबार आफू ढिलो आउनसक्ने बताएका उनी उक्त दिन कार्यालय नगएपछि शंका गरिएको थियो । खनाल ६ महिनाअघिमात्रै कैलाश बैंकको लामाचौर शाखा प्रमुख भएर गएका थिए । नेपाल एक्सप्रेस फाइनान्सको पोखरा सभागृहमा कार्यरत खनाल फाइनान्स कैलाशसँग मर्ज भएपछि न्युरोड शाखामा खटाइएका थिए । लामाचौरमा शाखा प्रमुख रिक्त रहेपछि उनी त्यहाँ गएका हुन् ।

शाखा प्रमुख खनाल अनियमितता गर्दै बेपत्ता भएपछि कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंबाट टिम आएर हिसाब किताब गडबडीको छानबिन गरिसकेको छ । के कति अनियमितता भएको भन्ने लेखापरीक्षकको प्रतिवेदनपछिमात्रै थाहा हुने सीईओ लामिछानेले जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरोले समेत उक्त प्रतिविदेन चाहेको पनि उहाँले बताउनुभयो ।

ब्युरोकी प्रवक्ता एसपी मीरा चौधरीले बैंकबाट शाखा प्रमुख सम्पर्कविहीन बनेको उजुरी आफूहरुकहाँ परेको अन्नपूर्णसँग बताउनुभयो । ‘उजुरी आएको छ, तर यति रकम अनियमितता भन्ने चाहिँ खुलेको छैन’, उहाँले भन्नुभयो ।
बैंकर खनालले बैंक, ग्राहक र सहकारीबाट करोडौं रुपैयाँ लिएको प्रारम्भीक अनुमान स्थानीय प्रहरीले गरेको छ । स्रोत भन्छ, ‘ठूलो रकम बैंकमा जम्मा गर्न आएका ग्राहकसँग बढी ब्याज दिन्छु भनेर पैसा लिने गरेका थिए । सहकारीहरुलाई पनि फकाएर ठूलै पैसा फुत्काउन सफल भएछन् ।’

२०५० को दशकमा काठमाडौंबाहिर पहिलोपटक खुलेको अन्नपूर्ण फाइनान्स विकास बैंक हुँदा कैलाश नाम रहेको हो । पोखरामै केन्द्रीय कार्यालय रहेको मेट्रो विकास बैंक र नेपाल एक्सप्रेस फाइनान्स एक वर्षअघि कैलाशमा मर्ज भएका थिए । बेपत्ता बैंकर खनाल कास्की फाइनान्स, स्टेन्डर्ड फाइनान्स, माछापुच्छ«े बैंक र नेपाल एक्सप्रेस फाइनान्स हुँदै कैलाश विकास बैंक आइपुगेका हुन् । खनाल सेयर कारोबारमा र विभिन्न सहकारीमा समेत संलग्न रहेको बताइएको छ ।

लायन्स क्लबको सम्मेलनका क्रममा यसअघि अमेरिका पुगेका खनाल पैसा हिनामिना गरी उतै भागेको प्रारम्भीक अनुमान छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमनमार्फत उनी देशबाट बाहिरिइसकेको प्रहरीले पत्ता लगाइसकेको छ ।