२०७४ वैशाख ३ – ललितपुरको टौखेलस्थित जीवनशैली सुधार केन्द्रमा एक युवकको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ वर्षीय पदम बहादुर पौडेल रहेका छन् ।
उनको उपचारका क्रममा शनिबार पाटन अस्पताल मृत्यु भएको थियो। शिक्षण अस्पताल महाराजगन्जमा भएको पोष्टमार्टमपछि पदमको मृत्यु स्वभाविक नभएको चिकित्सकले बताएका छन्। शिक्षण अस्पतालले मृत्यक पौडेलको टाउकोमा चोट, छातीमा दुई वटा दाग र पाखुरामा निलडाम भएको जनाएको छ।
मृतकका आफन्तले अपराधीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। प्रहरी वृत्त, सातदोबाटोले उक्त सुधार केन्द्रमा कार्यरत रविन्द्र सिजापती र सुनिल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। महाबौद्धमा होलसेल व्यापार गर्दै आएका सिन्धुलीका पदमलाई अत्यधिक मादक पदार्थ सेवन गर्ने बानीका कारण आफन्तले १८ दिन अघि जीवनशैली सुधार केन्द्रमा भर्ना गरेका थिए।
सुधार गृहले शनिबार बिहान पदमले लगातार बान्ता गरेपछि तत्काल उपचारका लागि गोदावारीस्थित स्थानीय हस्पिटलमा उपचार गर्न लगिएपनि त्यहाँबाट ठुलो अस्पतालमा लैजान रिफर गरिएको र तत्कालै पाटन अस्पतालमा पुर्याइएको थियो। पाटन अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा पौडेलको मृत्यु भएको सातदोबाटो प्रहरी प्रमुख डीएसपी रामेश्वर यादवले जानकारी दिनुभयो ।