images
images

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

२०७४ वैशाख ३ – स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
आयोगका सचिव गोपीनाथ मैनालीले गोरखापत्रसँग कुरा गर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा खटिनुभएका मुख्य निर्वाचन अधिकृतहरू शनिबारसम्म सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिनुभयो ।
जम्मा ७४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको नियुक्ति आयोगले गरिसकेको छ ।  आयोगले ६६९ जना निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ मा खोल्ने तयारी गरेको छ ।
उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य निर्वाचनको कार्यालय खोल्न सबै तयारी पूरा भएको जानकारी सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले दिनुभएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँका जिल्ला निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले काठमाडौँका लागि राष्ट्रिय सभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी पूरा भएको बताउनुभयो ।
काठमाडौँको मुख्य निर्वाचन अधिकृतमा पुरुषोत्तम ढकाल खटिनुभएको छ र यस जिल्लामा ३२० वटा मतदानस्थल तोकिएका छन् ।  काठमाडौँमा दुई लाख ७२ हजार २७१ पुरुष र दुई लाख ८७ हजार ११८ महिला र ११ जना तेस्रोलिङ्गी गरी पाँच लाख ५९ हजार ४०० मतदाता छन् ।
यसैगरी ललितपुरका जिल्ला निर्वाचन अधिकारी सीता साम्बाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहने बताउनुभयो ।  ललितपुरको मुख्य निर्वाचन अधिकृतमा बालमुकुन्द दवाडी हुनुहुन्छ ।  यस जिल्लामा पुरुष एक लाख तीन हजार ७७, महिला एक लाख नौ हजार ३९३ र तेस्रोलिङ्गी एक गरी जम्मा दुई लाख १३ हजार ७३ मतदाता छन् ।
यस्तै भक्तपुरका जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार भक्तपुर नगरपालिका नजिकै रहेको भवनमा भक्तपुरको मुख्य निर्वाचन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।  भक्तपुरमा ७८ हजार ९२६ पुरुष, ८२ हजार ५९८ महिला र पाँच तेस्रोलिङ्गी गरी जम्मा एक लाख ६१ हजार ५२९ मतदाता छन् ।  भक्तपुरमा ८७ वटा मतदान केन्द्र तोकिएका छन् ।