
२०७३ चैत्र २७ – उपप्रधानमन्त्रीको वरीयताक्रमको विवाद र नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा टुंगो नलागेपछि मन्त्रिपरिषद्को बैठक फेरि स्थगित भएको छ।
आइतबार अपरान्हका लागि बोलाइएको मन्त्रिपरिषद बैठक विशेष कारणबस् स्थगित गरिएको भन्दै सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचकाे वरीयताक्रम विवाद नमिलेपछि यसअघि पटक पटक बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुँदै आएको थियो।
उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै छ। उपप्रधानमन्त्री निधिले आफूलाई दोस्रो वरीयतामा राखे राजीनामा दिने बताउँदै आएका छन् भने थापाले आफू दोस्रो नम्बरमा नपरे सरकार छोड्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिएका छन्।
राप्रपाका अध्यक्षसमेत रहेका थापा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएर सरकारमा सहभागी भएयता मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन। मन्त्रिपरिषद्को नियमित बैठक चैत ३ गते यता बस्न सकेको छैन।