२०७३ चैत २५ – स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन् । करिब दुई दशकपछि हुन लागेको निर्वाचनले स्थानीय बासिन्दामा पनि उत्साह छाएको छ ।
वि.सं. २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या एक लाख पाँच हजार छ । यहाँ मुख्यगरी नेपाली काँग्रेस र नेकपा(एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ भने नेकपा माओवादी केन्द्रको मत निर्णायक हुने देखिन्छ ।
तिलोत्तमा नेपाली काँग्रेसको तर्फबाट रोमणि पाठक, कृष्णबहादुर गौतम र यमबहादुर खत्रीको नाम चर्चामा छ । यीमध्ये पाठक २०४९ र २०५४ मा आनन्दवन गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाठक अहिले वीपी चिन्तन प्रतिष्ठान रूपन्देहीको अध्यक्ष हुनुहुन्छ भने ब्राम्हण समाज नेपालको कार्यवाहक अध्यक्ष हुनुहुन्छ । उहाँले पार्टीले आवश्यक ठानेर जिम्मेवारी दिए बहन गर्न तयार रहेको बताउनुभयो ।
त्यस्तै अर्का आकाङ्क्षी गौतम तिलोत्तमा नगर विकास समितिको अध्यक्ष हुनुहुन्छ । तिलोत्तमा नगरलाई कृषि, औद्योगिक, वाणिज्य क्षेत्रमा विभाजन गरी योजनाबद्ध विकास गर्न आफूले नेतृत्व पाए पहल गर्ने उहाँले बताउनुभयो ।
काँग्रेसबाटै अर्को आकाङ्क्षी हुनुहुन्छ यमबहादुर खत्री । उहाँ नेपाली काँग्रेसका जिल्ला समिति सदस्य हुनुहुन्छ । तिलोत्तमा नगरपालिकाको मेयरको रूपमा आफूले अवसर पाए नगरलाई कृषि, पर्यटन, पूर्वाधारको क्षेत्रमा तीव्र विकास गर्ने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।
यस क्षेत्रमा एमालेको तर्फबाट सबैभन्दा बलियो उम्मेदवारको रूपमा शशी पौडेल, सुरेन्द्र बर्मा र मोहन चापागाईंको चर्चा कार्यकर्ताहरूले चलाउने गरेका छन् ।
मेयरका आकाङ्क्षी पौडेल गाई फार्म सञ्चालन गरेर सफल किसानको रूपमा परिचित हुनुहुन्छ । उहाँले तिलोत्तमा नगरपालिकालाई सुन्दर नगर बनाउने आफ्नो सपना रहेको बताउनुभयो । “तिलोत्तमा नगरको विकास र यसको सुन्दरता नै मेरो सपना हो”–उहाँले भन्नुभयो ।
त्यसैगरी अर्का आकाङ्क्षी बर्मा एमाले रूपन्देहीको सदस्य हुनुहुन्छ । “उहाँको शालिन व्यक्तित्व र स्वभावलाई धेरैले रुचाउँछन्, त्यसैले उहाँको सम्भावना पनि उत्तिकै बलियो छ”–जिल्ला कमिटीका एक सदस्यले भने ।
उता एमालेका जिल्ला सदस्य तथा नगर इन्चार्जसमेत रहेका चापागाईं पत्रकारिता हुँदै सक्रिय राजनीतिमा आउनुभएको हो । उहाँ सामुदायिक रेडियो प्रसारक संघ
(अकोराव)को निवर्तमान अध्यक्ष र रेडियो लुम्बिनीको अध्यक्ष हुनुहुन्छ ।
उहाँले आफ्नो प्रतिबद्धता, लगाव र इमान्दारिता आफूले पार्टीको लागि दिएको अमूल्य सम्पत्ति रहेको बताउनुभयो । एमालेबाट यज्ञ गैरे, कृष्ण नेपाल, दुजेन्द्र बस्नेतलगायतको नाम पनि मेयरको लागि चर्चामा छ । त्यस्तै माओवादी केन्द्रबाट लक्ष्मण खनाल र हेमन्त पाण्डे मुख्य आकाङ्क्षी हुनुहुन्छ । दुवै पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । खनाल हालै भएको तिलोत्तमा नगरको अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको छ भने पाण्डेले यस अगाडि तिलोत्तमा नगरको इन्चार्जको रूपमा काम गर्नुभएको थियो । यद्यपि खनालले पार्टीले पाण्डेलाई निर्णय गरेको खण्डमा आफ्नो समर्थन रहने बताउनुभयो । “हेमन्त पाण्डे उम्मेदवार हुने अवस्थामा म उठ्दिन, अन्यथा म पनि आकाङ्क्षी हो”–उहाँले भन्नुभयो । पाण्डेले आफू मुख्य आकाङ्क्षी रहेको दावी गर्दै तिलोत्तमा नगरको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, फोहोरमैला व्यवस्थापन गर्न र १० वर्षे गुरुयोजना बनाएर तिलोत्तमाको विकास गर्न आफ्नो नेतृत्व अपरिहार्य रहेको बताउनुभयो ।
महिलातर्फ भने नेपाली काँग्रेसबाट गंगा शाही, कविता अर्याललगायतको नाम चर्चामा छ । त्यसैगरी एमालेबाट जिल्ला सचिव रहेकी जागेश्वरी चौधरी, जिल्ला सदस्यद्वय देवी वाग्ले, जमुना लम्साललगायतको नाम विशेष चर्चामा रहेको छ । जिल्ला सचिव चौधरी नउठेको खण्डमा स्थानीय पार्टी गतिविधिमा सक्रिय भूमिका खेलिरहेकी वाग्लेको सम्भावना बलियो रहेको जिल्ला कमिटीका एक सदस्यले बताए ।
माओवादी केन्द्रबाट महिलामा भने दिलमाया गुरुङ आकाङ्क्षी देखिनुभएको छ । उहाँ पार्टीको जिल्ला कमिटी सदस्य तथा अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य हुनुहुन्छ ।