२०७३ चैत्र १४ – सरकारले सुपारी तेस्रो मुलुक निर्यात गर्न बन्द गरेपनि तस्करी भने रोकिएको छैन । सुपारी निर्यातका विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारले सुपारी निर्यात बन्द गरेको हो ।
नेपाल सुपारी खेती विकास संस्थाले एकाधिकार जमाएको भन्दै सर्वोच्चमा मुद्दा परेसँगै सुपारी भारत निकासी हुन सकेको छैन । कानुनबमोजिम निकासी हुने क्रम बन्द भएपछि गैह्रकानुनी ढङ्गबाट सुपारी भारत पुर्याउने क्रम तीव्र बनेको हो ।
तीन वर्षदेखि मेची भन्सार कार्यालयले सुपारी निर्यात बन्द गरेपनि पूर्वी नाका काँकरभिट्टाबाट सुपारी भारत पुगिरहन्छ । ‘हामीले ३ वर्षदेखि निर्यात ठप्प पारेका छौँ,’ मेची भन्सार कार्यालयका प्रमुख भीम अधिकारीले भने, ‘यो नाकाबाट सुपारी निर्यात गर्न पाइँदैन ।’ तर, सुपारी तस्करी हुने मुख्य नाकाको रुपमा चिनिन्छ, काँकरभिट्टा । काँकरभिट्टामा हाल पहिलेको जस्तो चहलपहल नभएपनि तस्करीमा संलग्नहरुले विभिन्न तरिका अपनाएर सुपारी भारतसम्म पुर्याउने गरेका छन् । झापामा सुपारी तस्करी गर्नेहरुको ठूलो समूह छ । कोही ट्रकमा लोड गरेर प्रहरीसँगको ‘सेटिङ’मा सुपारी पारी पुर्याउँछन्, कोही शरीरमा, रिक्सामा र स–साना झोलामा सुपारी भारतसम्म पुर्याउँछन् ।
काँकरभिट्टाका प्रहरीको मुख्य काम तस्करी रोक्नु नै हो । त्यसमा पनि उनीहरुको नजर सुपारी तस्करी गर्नेहरुमाथि नै हुने गर्छ । ‘बलबुताले भ्याएसम्म रोक्ने प्रयास गरिएको छ,’ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दुर्गाराज रेग्मीले भने, ‘तर, पनि अझै अलिअलि चाहिँ लुकाएर लैजाने गरेका छन् ।’