, मानवअधिकारको सम्मान र विधिको शासनजस्ता आधारभूत मूल्यको सम्मान गरिने नवनिर्वाचित नेतृ कारी लामको प्रतिबद्धता
चीनको स्वायत्त क्षेत्र हङकङमा पहिलोपटक महिला नेतृ निर्वाचित भएकी छिन् । बेइजिङको समर्थनप्राप्त नेतृ कारी लाम आइतबार हङकङको कार्यकारी प्रमुखमा निर्वाचित भएकी हुन् । वर्तमान नेता सी लेउङको उत्तराधिकारीका रूपमा लाम निर्वाचित भएकी हुन् । यसअघि उनी लेउङको सहायकको भूमिकामा थिइन् ।
निर्वाचनको विरोध
बेइजिङ पक्षधरको प्रभुत्व रहेको एउटा समितिले हङकङको कार्यकारी प्रमुखको निर्वाचन गरेको हो । सो निर्वाचनको विरोधमा हङकङका प्रजातन्त्रवादी समूहहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले निर्वाचन प्रक्रियालाई ‘धोका’ भनेका छन् । मतदानप्रतिको असन्तोष स्वरूप एकजना इलेक्टोरले मतपत्रमा क्रस चिह्न लगाएका थिए भने अर्काले अश्लील शब्द लेखेको न्युयोर्क टाइम्सले जनाएको छ ।
१२ सय निर्वाचक मत
चीनको अर्धस्वायत्त हङकङको नेता छनोट १२ सय प्रतिनिधि रहेको निर्वाचकको हातमा रहने गर्छ । व्यापारिक र राजनीतिक पृष्ठभूमिका निर्वाचकहरूको बेइजिङसँग निकटता हुने गर्छ । उनीहरूमध्ये सात सय ७७ जनाले लिमलाई मतदान गरेका थिए । उनका प्रतिद्वन्द्वी जान चाङले तीन सय ६५ मत प्राप्त गरेका थिए । निर्वाचनअघिका सर्वेक्षणले पूर्वअर्थमन्त्रीसमेत रहेका चाङ बढी लोकप्रिय रहेको देखाएका थिए । अवकासप्राप्त न्यायाधीश बु क्वोक हिङ पनि निर्वाचनमा प्रतिस्पर्धामा थिए । उनले जम्मा २१ मत प्राप्त गरे ।
‘सामाजिक सद्भाव कायम राख्छु’
हङकङको प्रमुख कार्यकारीमा निर्वाचित भएपछि लामले आफ्नो प्रमुख प्रथामिकता सामाजिक सद्भाव कायम राख्नु रहेको बताइन् । ‘हङकङले विभाजनको पीडा सामना गरेको छ । मेरो मुख्य प्राथमिकता त्यो विभाजनको घाउ निको पार्नु हुनेछ । सर्वसाधारणको असन्तुष्टि सक्दो चाँडो सम्बोधन गर्ने उनले बताइन् । ‘मैले हङकङवासीको धेरै गुनासो सुनेकी छु । ती गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्नेछु,’ उनले भनिन् । लामले समावेशी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको सम्मान र विधिको शासनजस्ता आधारभूत मूल्यको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
लामो प्रशासनिक अनुभव
लामो समय सरकारी सेवामा काम गरेकी लामसँग प्रशासनिक अनुभवसमेत छ । बेइजिङको चाहनामा नेता चयनको विरोधमा सन् २०१४ मा सुरु भएको छाता आन्दोलनले हङकङका धेरै सहर प्रभावित भएका थिए । सो प्रदर्शनपछि बेइजिङले ल्याएको राजनीतिक सुधारको बचाउ गरेकी थिइन् ।
‘१२ सय प्रतिनिधिले नेता छान्न सक्दैनन्’
निर्वाचन प्रक्रियाको तीव्र विरोध भएको छ । ‘केही वर्षअघि हङकङका नेताले मात्र यहाँका जनतालाई शासन गर्न सक्ने चीनले जनाएको थियो, त्यसको पालना कहिले हुन्छ ?,’ निर्वाचन केन्द्रमा जम्मा भएका एक प्रदर्शनकारीले भने, ‘आज जम्मा १२ सय प्रतिनिधिले हङकङकको कार्यकारी नेता चुनेका छन् ।’ लोकप्रियताका हिसाबले दोस्रो तहमा रहेकी नेतृ विजयी भएकोमा केहीले गुनासो गरे । ‘दोस्रो दर्जामा रहेको व्यक्ति कार्यकारीका रूपमा चुनिँदा परिवर्तनको छनक देखिँदैन,’ प्रदर्शनकारीमध्येका नेता जोसुवा वोङ भन्छन् । हङकङवासीलाई नाम मात्राको स्वायत्तता दिइएको उनले बताए ।