२०७३ चैत्र १४ – चुनाव नजिकिँदै गर्दा मधेस केन्द्रित दलहरूबीच एकताका पहल सुरु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भित्रेका केही साना दलबीच ‘केही दिनभित्रै एकता गर्ने गृहकार्य भइरहेका’ ले मोर्चाभित्रका तीन ठूला दललाई समेत दबाब बढेको छ ।
सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनाको सम्मानमा आइतबार मलेठमै भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मोर्चा आबद्ध दलका केही नेताहरूले एउटै झन्डामुनि सबै मधेसवादी दल आउनुपर्ने बताए । सभापछि उनीहरूले कान्तिपुरसित कुरा गर्दै एकीकरण प्रक्रियामा खासगरी मोर्चा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गृहकार्य भइरहेको जानकारी दिए ।
‘थ्रेसहोल्डका कारणले होइन, शक्ति एकीकृत गर्नु जरुरी भएकाले एकता गर्न खोजिएको हो,’ रामसपा अध्यक्ष शरदसिंह भण्डारीले कान्तिपुरसित भने, ‘महेन्द्र राय यादवजी, राजकिशोर यादवजी र मेरोबीचमा एकीकरण गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ ।’ उनले मोर्चाभित्रका सबै दलसित छलफल भइरहेको समेत बताए । ‘पहिलो चरणमा ३ दलबीच चाँडै एकीकरण हुँदैछ, जसले मोर्चाभित्रका अन्य दलमाथि पनि प्रेसर सिर्जना हुन्छ,’ उनले भने, ‘हामी तीन दलबीच नेतृत्वका लागि इगो प्रोबलम छैन, सामूहिक नेतृत्वका आधारमा समयको मागलाई सम्बोधन हुने गरी एकताको नजिक पुगेका हांै ।’
भण्डारीको रामसपा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट फुटेर बनेको हो भने महेन्द्र राय यादवको तमसपा तमलोपाबाट फुटेर निर्माण भएको हो । यस्तै राजकिशोर यादवको फोरम गणतान्त्रिक उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमबाट फुटेर जयप्रकाश गुप्ता सहितकाले बनाएका थिए । गुप्ता जेल परेपछि राजकिशोर अध्यक्ष भएका थिए । व्यवस्थापिका संसद्मा रामसपा र तमसपाका ३/३ तथा फोरम गणतान्त्रिकका एक सांसद छन् ।
‘फुट डालो राज करो, घर फुटे गवार लुटे,’ यो स्थिति सिर्जना गरियो भण्डारीले भने, ‘विगतमा भएका कमीकमजोरीका लागि क्षमा माग्दै पार्टी एकीकरणको विकल्प छैन । ‘एकीकरण प्रयास भइरहेको छ,’ तमसपा अध्यक्ष महेन्द्र राय यादवले भने, ‘जुन दिन मधेसी मोर्चामा एकीकरण हुन्छ, हाम्रो मुद्दाको आधा विजय त्यही दिन हुनेछ ।’ समय र जनताको माग पनि एकता नै रहेकोमा उनले जोड दिए । ‘मन्त्री खान पार्टी फोरुवा भयौं,’ उनले भने, ‘अब विगतको गल्तीबाट पाठ सिकेर एकै झन्डामुनि गोलबन्द हुनुको विकल्प छैन ।’
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि एकता प्रयास भइरहेको पुष्टि गरे ।
उनले मोर्चामा रहेका सबै दल एकै झन्डामुनि आउने प्रयास सुरु भएको उल्लेख गर्दै रामसपा, तमसपा र आफ्नो दलबीच घनिभूत छलफल भइरहेको जानकारी दिए । ‘सम्भवत: चैत महिनामै परिणाम देखिने छ,’ यादवले भने, ‘इच्छा सबैको एकीकरणको पक्षमा छ ।’
श्रद्धाञ्जली सभामा राजकिशोरले मञ्चबाटै एकीकरणका लागि औपचारिक प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा भण्डारी र महेन्द्र रायले समर्थन गरेका थिए । ‘राज्यसत्ताको भूलभुलैयामा पार्टी फोडिँदै गइयो,’ उनले भने, ‘तर अब राज्यको दमनकारी नीतिका कारण एकै झन्डामुनि आउनुको विकल्प छैन ।’
मोर्चाको अर्का घटक सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मञ्चबाटै भने, ‘गजेन्द्रनारायण सिंहले एउटा पार्टी बनाए, तीनवटा भयो । तीनबाट १३ भयो । मधेसी दल फुटेको मादल जस्तै भयो, टुक्रा–टुक्रामा बाँडियौं । फुटेको मादल बज्दैन, त्यसकारण एकता जरुरी छ ।’ उनले मधेसवादी दलबीच एकताको पक्षधर आफू रहेको बताउँदै एकताविपरीत जानेलाई जनताले धूल चटाउनुपर्ने बताए । कार्यक्रमपछि कान्तिपुरसित महतोले भने, ‘एकता हुनुपर्छ । कुराकानी सुरु भएको छ, हेरौं के हुन्छ ।’
केही समयअघि पनि उपेन्द्र यादव, महन्थ ठाकुर र महतो लगायतका नेताले पार्टी एकीकरणको कुरा चलाएका थिए । कैयौं छलफल भए पनि नेतृत्व कसले गर्ने भन्ने विवादले निष्कर्षमा पुग्न सकेको थिएन ।