चैत्र ११ , २०७३- नेपाल–भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को दुई पटक स्थगित तेस्रो बैठक दुई सातापछि काठमाडौंमा हुने भएको छ । चैत २२ र २३ मा उक्त बैठक बस्ने गरी भारतले तिथि प्रस्ताव गरेपछि बैठक तय भएको हो । पुसमा तय भएको तेस्रो बैठक भारतीय निर्वाचनको कारण देखाएर स्थगित भएको थियो ।
गत साताका लागि तय बैठक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तर प्रदेश भ्रमणका कारण स्थगित भएको थियो । ईपीजीका भारतीय संयोजक तथा बीजेपीका उपाध्यक्ष भगतसिंह कोसियारी पार्टीको काममा व्यस्त हुने भएकाले स्थगित भएको हो ।
नेपाल र भारतको सम्बन्धमा आउने तिक्ततालाई अन्त्य गर्नका लागि सुझाव दिन बनेको ईपीजीले पुराना सन्धि–सम्झौता केलाउनेदेखि सीमा क्षेत्रमै गएर धारणा लिने काम गरेको थियो । नेपालको चर्को दबाब र लगातार प्रयासपछि बनेको ईपीजी गठन भएको हो ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपालतर्फको ईपीजीमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र सांसद राजन भट्टराई सदस्य छन् भने कोसियारीको संयोजकत्व रहेको भारतीय टोलीमा बीसी उप्रेती, महेन्द्र लामा र नेपालका पूर्वभारतीय राजदूत जयन्त प्रसाद छन् ।-कान्तिपुर समाचार