images
images

सर्वसम्मतले १२ राजदूत अनुमोदन

चैत्र १०, २०७३- सरकारद्वार १२ मुलुकका लागि प्रस्तावित राजदूतको नाम व्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिले बुधबार सर्वसम्मत अनुमोदन गरेको छ । समितिमा सोमबारदेखि तीन दिनसम्म सुनवाइ भएको थियो ।

समितिले प्रस्तावित १२ जनाको नाम सर्वसम्मत भएको जानकारी बुधबारै परराष्ट्र मन्त्रालयलाई गराएको छ । प्रस्तावितमध्ये म्यानपावर व्यवसायसँग जोडिएका ओमनका लागि प्रस्तावित शर्मिला पराजुली र कतारका लागि प्रस्तावित रमेश कोइरालाका साथै २०४६ को जनआन्दोलन दबाउन दोषी देखेको भनेर मल्लिक आयोगले सिफारिस गरेकोबारे इजरायलका लागि प्रस्तावित निरञ्जन थापाविरुद्ध उजुरी परेको थियो ।

तर उनीहरूको संलग्नताबारे कुनै छानबिन नगरी समितिले अनुमोदन गरेको छ । ‘कुनै नाममा पनि विवाद देखिएन, सबैको सहमतिमा अनुमोदन गरेका हौं,’ विशेष सुनुवाइ समितिका सभापति कांग्रेस सांसद कुलबहादुर गुरुङले भने ।

१२ राजदूतमा पराजुली, कोइराला र थापासहित डा. विश्वम्भर प्याकुरेल (श्रीलंका), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), लक्की शेर्पा (अस्ट्रेलिया), चोपलाल भुसाल (बंगलादेश), पदमदास सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यानमार) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया) छन् ।

सरकारले सुरुमा स्पेनमा नयाँ दूतावास खोल्नेसहित १४ मुलुकका लागि नाम सिफारिस गरेको थियो । विवादित व्यक्ति भन्दै आशा लामा (यूएई) र पराजुली (ओमन) को नाम फिर्ता लिए पनि पराजुलीलाई पुन: समावेश गरियो । स्पेनमा दूतावास खोलेपछि मात्र सुनुवाइमा पठाउने भन्दै सरकारले भरत रायमाझीको नाम भने समितिमै पठाएन ।

पिटर बड नयाँ अस्ट्रेलियाली राजदूत
अस्ट्रेलिया (कास)– अस्ट्रेलिया सरकारले नेपालका लागि नयाँ राजदूतमा पिटर बडलाई नियुक्त गरेको छ । अस्ट्रेलियाकी विदेशमन्त्री जुली बिसपले विज्ञप्ति जारी गर्दै नेपालका लागि नयाँ राजदूत नियुक्त भएको जनाएकी हुन् ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन हवाइटको कार्यकल यही वर्ष सकिँदैछ । उनी २०१३ देखि कार्यरत छन् । नयाँ राजदूतका रूपमा नियुुक्त बडले डेपुटी हेड अफ मिसनका रूपमा बगदाद, प्रिटोरिया र पोर्ट भिल्लामा काम गरिसकेका छन् । उनी क्यानबेरामा समेत विभिन्न उच्च कूटनीतिक पदमा रहेर काम गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बिसपले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै अस्ट्रेलियाले नेपालमा पुर्‍याइरहेको सहयोग समेत उल्लेख गरेकी छन् । नेपाल अस्ट्रेलियाको शिक्षा क्षेत्रमा आठौं धेरै विद्यार्थी उच्च शिक्षाका लागि पठाउने देश भएको उल्लेख गर्दै उनले १५ हजार नेपाली विद्यार्थी अध्ययन गरिरहेको र २५ हजार अस्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेको तथ्यांकसमेत दिएकी छन् ।

अस्ट्रेलियाले बर्सेनि ३४ मिलियन डलर सहयोग पुर्‍याउँदै आएको जानकारी दिँदै उनले नेपालमा गएको महाभूकम्पपछि पनि पुनर्निर्माणको कार्यमा हातेमालो गर्दै आएको बताएकी छन् । विदेशमन्त्री बिसपले नेपाल र अस्ट्रेलियाबीचको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन बडले काम गर्ने उल्लेख गरेकी छन् ।