चैत्र ,१० २०७३- परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमण सन्धिसम्झौताबिनै पनि फलदायी हुने बताएका छन् । भ्रमणमा द्विपक्षीय नयाँ सम्झौता हुन नसक्ने अवस्थाका लागि उनले ‘प्राविधिक कारण’ औंल्याए । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महतले दुई देशबीच विगतमा भएका सन्धिसम्झौता, समझदारी कार्यान्वयनमा लैजाने प्रतिबद्धतासाथ काम भएको जानकारी दिए ।
सम्झौता नै नभए पनि भ्रमणमा चीनसँग ट्रान्समिसन लाइन, क्रस बोर्डर इकोनोमिक जोन, वान बेल्ट वान रोड (ओबर), लगानी र कोदारी/रसुवागढी नाका बाह्रै महिना सञ्चालन गर्ने विषयमा छलफलका लागि गृहकार्य भइरहेको उनको भनाइ छ । ‘राजनीतिकबाहेक यस्ता केही एजेन्डामा पनि छलफल हुनेछ, सम्झौता भने हुनेछैन,’ महतले भने । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री अस्ट्रेलिया–न्युजिल्यान्डतिर रहेकाले पनि सम्झौता हुने अवस्था नरहेको उनले बताए ।
प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार राति चीन जाँदैछन् । उनी गोन्जाओ हुँदै हैनानको बोआओ पुग्नेछन् । त्यहाँ उनले चिनियाँ उपप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसको भोलिपल्ट फोरममा सम्बोधनपछि सोही दिन बेइजिङ जानेछन् । प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी हुने एक मात्र कार्यकारी प्रमुख हुनेछन् । फोरममा चीनको निकै नजिकको मित्र पाकिस्तानले समेत पूर्वप्रधानमन्त्री पठाएको छ भने चीनका तर्फबाट पनि उपप्रधानमन्त्रीस्तरमै प्रतिनिधित्व हुँदै छ । -कान्तिपुर समाचार