चैत्र ९ , २०७३- ठेक्का पाएको चीनको नर्थवेष्ट सिभील एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले सहमति अनुरुप भुक्तानी नदिएकाले भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम बन्द गर्नु परेको स्थानीय सह ठेकेदार कम्पनी नर्थवेष्ट ईन्फा नेपाल प्रालीले जनाएको छ ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीले ठेक्का पाएको चीनको उक्त कन्स्ट्रक्सन ग्रुपले आयोजनाकालागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री, उपकरण तथा औजार, प्राविधिक जनशक्ति र निर्माण कार्य समेत सबै काम नर्थवेष्ट ईन्फा नेपालले गर्ने गरी सव–कन्ट्रयाक्टरको रुपमा सम्झौता गरेको दावी गरेको छ ।
नर्थवेष्ट ईन्फा नेपाल प्रालीका अध्यक्ष राजु गुरुङले मुख्य ठेकेदार कम्पनीले सहमति गरे अनुरुप भुक्तानी नदिएकाले आफ्नो कम्पनीले काम रोक्न बाध्य भएको बताए । उनले ठेकेदार कम्पनीले आयोजनासंग भुक्तानी लिने तर निर्माण कार्यमा प्रयोग गरिएका निर्माण सामाग्री, मेशिन तथा औजार, मजदुर लगायतका भुक्तानी दिन ६ महिनादेखि आनाकानी गर्दै आइरहेको बताए ।
उनका अनुसार, मुख्य ठेकेदार कम्पनीसंग आयोजनाबाट प्राप्त हुने भुक्तानीको २० प्रतिशत रकम मुनाफाको रुपमा मुख्य ठेकेदार कम्पनीले राखेर लाभांसको रुपमा बाढ्ने र ८० प्रतिशत रकम आयोजनामा व्यवस्थापकीय रुपमा काम गरेको सव–कन्ट्याक्टर कम्पनीलाई दिने सहमती भएको थियो ।
मुख्य ठेकेदार कम्पनीले हालसम्म आयोजनाबाट १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी लिई सकेपनि सब–कन्ट्याक्टरलाई ५२ करोड रुपैयाँमात्र भुक्तानी दिएको उनले जनाए ।
आफ्नो कम्पनीलाई हालसम्म ५२ करोड रुपैयाँ भुक्तानी दिएको जनाउँदै उनले करिव ५५ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको उनले जनाए ।
ठेकेदार कम्पनीको तर्फबाट आफ्नो कार्यालयमा राखिएको सम्झौतासहितका अति महत्वपुर्ण कागजात र तीनवटा ल्यापटप लुटिएपछि आयोजना प्रमुखको रोहवरमा लुटिएका सामान फिर्ता आएको उनले बताए ।
गुरुङ अध्यक्ष रहेको यस कम्पनीको प्रबन्ध निर्देशक एमाले नेता झलनाथ खनालका पुत्र निर्भिक खनाल रहेका छन् । राजनीतिक आस्थाको आधारमा मुछ्दै यथार्थ भन्दा बाहिर गई विभिन्न समाचार माध्यमबाट आफ्नो संस्थाका बारेमा भ्रामक र गलत समाचार प्रकाशन तथा प्रशारण हुँदै आएको जनाउँदै गम्भिर रुपमा ध्यानाकर्षण भएको गुरुङले जनाए । -कान्तिपुर समाचार