images
images

हरे राम, हरे कृष्ण युरोपमा

पादोभा (इटाली) ।। निधारमा खरानीको ठाडो टीका लगाएका । लुंगी, कछाड र पतलुङ पहिरिएका । हातमा मादल, हार्मोनियम र झुर्रा बोकेका एक हुल मानिस इटालीको पादोभा सहरमा राम र कृष्णको भजन गाउँदै निस्किए ।

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम, राम राम हरे हरे !

ती नेपाली नागरिक थिएनन्, न त इटालियन नै थिए । तर, तिनको काम राम र कृष्णको भजन–कीर्तन गाउँदै इटालीका विभिन्न व्यापारिक तथा सांस्कृतिक मेलामा हिन्दू धर्म फैलाउने, राम र कृष्णका अनुयायीहरू बनाउने हो । इटालीका दस प्रमुख सहरमा लाग्ने यो मेलालाई स्थानीय भाषामा फेस्टिबल दोरियँते पनि भनिन्छ । प्रत्येक मेलामा करिब पाँच लाखका हिसाबले वार्षिक ५० लाखले यो मेला हेर्छन् । राम र कृष्णका यी अनुयायीहरू यस्ता हरेकजसो मेलामा पुग्छन् । यो अभियानकर्तामध्येका एक आन्द्रिय तेरेजी सकेसम्म सबै मेलामा पुग्ने गरेको बताउँछन् । भन्छन्, “म हिन्दु धर्मको अनुयायी हुँ । त्यसमा पनि राम र कृष्णको पूजक हुँ । हिन्दु धर्मका धार्मिक ग्रन्थहरू विज्ञान हुन् । वेद र पुराणको वैज्ञानिक महत्त्व मात्रै बुझिदिने हो भने पनि जीवन जिउन सहज हुन्छ, संसार बुझ्न सकिन्छ । हामी यसको महत्त्व बुझाउने अभियानमा लागेका छौँ ।”

मेलास्थलका हरेक कक्षमा उनीहरू भजन–कीर्तन गर्दै हिँड्छन् । मेलाका दर्शकलाई यसको महत्त्वबारे बताउँछन् । धार्मिक गीत गाएर सहभागीलाई नृत्य गर्न हौस्याउँछन् । हरेक साँझ मेलामै सामूहिक भजन–कीर्तन हुन्छ । हिन्दु धर्मको महत्त्व तथा राम र कृष्णको भूमिकाबारे हरेक साँझ गुरु, माताहरूले प्रवचन दिन्छन् । तेरेजी थप्छन्, “हिन्दु धर्मका वास्तविक अनुयायीले पालन गर्नुपर्ने पक्ष हामी पालना गर्छौं ।”

यस समुदायका गुरु, पण्डित र माताहरूले नेपाल र भारतका प्रमुख धार्मिकस्थलमा ज्ञान लिएका हुन्छन् । वर्षौंवर्षदेखि यसैमा साधना गरेका हुन्छन् ।

नेपाल चेम्बर अफ कमर्सको इटालीका प्रतिनिधि भरत लामा तामाङका अनुसार मिलान सहरमा यी राम र कृष्णका अनुयायीहरूको समुदाय नै छ । यिनले हिन्दु धर्मको आचरण सिकाउने विविध कार्यक्रम गरिरहन्छन्।  अन्तर्राष्ट्रिय व्यापारिक मेलामा यी अभियानकर्ताको आफ्नै स्टलसमेत हुन्छ । आफू र आफ्नो समुदायलाई आवश्यक सामग्री आफ्नै स्टलबाट खरिद गर्छन् । ‘हरे राम, हरे कृष्ण’ लेखेका गलबन्दीदेखि कछाड, टीको, चिया, भागवत गीता, वेद, पुराणलगायतका धार्मिक पुस्तक त्यहाँबाट बिक्री गर्छन् । यसका अतिरिक्त धार्मिक भ्रमणमा जानेहरूलाई नेपाल र भारतमा सम्पर्क गराइदिने, गुरुहरू भेटाइदिने, बस्ने र खाने ठाउँको सहज प्रबन्ध गरिदिन्छन् ।

हिन्दु धर्मका अभियन्ताहरूको यो समूहमा समाहित हुन सहज भने छैन । किनभने, यसमा लाग्नेहरूले मेलामा सहभागी भए पनि ढाँटेर व्यापार गर्न पाइन्न । व्यापारिक फाइदा होइन, धार्मिक र आध्यात्मिक लाभका लागि सामूहिक रुपमा सोच्नुपर्छ । इटाली मात्रै होइन, युरोपभर, यिनीहरूले यस्तो धार्मिक अभियान चलाइरहेका छन् । मिलान निवासी एभरेस्ट क्राफ्टका मार्केटिङ डाइरेक्टर शिव रिजाल अन्तत: यसले नेपाललाई फाइदा नै पुर्‍याइरहेको विश्लेषण गर्छन् । भन्छन्, “उनीहरूको अभियानले युरोपभर नेपालको प्रवद्र्धन पनि भएको छ ।”  -कान्तिपुर समाचार