images
images

सामान्य किसान डेढ वर्षमै करोडपति : ३३ किलो सुन प्रकरण

चैत्र ६, २०७३– अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भनिएकाहरूले छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बनाएका छन् । २१ पुसमा त्रिभुवन विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो । तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । १९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन् ।

गोप्य कागजातका अनुसार सुन तस्करीमा संलग्न रहेकाको आर्थिक हैसियत अस्वाभाविक देखिएको हो । पर्वतको विकट ठाउँ भोर्ले– १ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वाभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइलो छोरा गुप्तालाल करिब १५ वर्षअघि काठमाडौं छिरेका थिए । नातेदारहरूका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे । तर पछिल्ला केही वर्षमै उनको उकासिँदो आर्थिक हैसियत देखेर छिमेकी र नातेदार चकित छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसालसमेत एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए । दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वाभाविक देखिँदैन । अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जो कोही चकित पर्ने बताए । उनको व्यक्तिगत खाताका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको त्यसपछिका वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ ।

२०६५ भदौ यतामात्रै बैंकमा नगद १ करोड ४६ लाख १५ हजार देखिन्छ भने यसबीचमा उनले विभिन्न बैंकमार्फत करोडौंको कारोबार गरेका छन् । भुसालले भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको खातामा मात्रै सन् २०१२ मा एकै पटक ७० लाख २७ हजार ९ सय ५० र सन् २०१३ मा ८६ लाख ५० हजार राखेको देखिन्छ । त्यस्तै माछापुच्छ्रे बैंकको तलब खातामा सन् २०१४ मा ५८ लाख ८० हजार र सन् २०१५ मा १३ लाख ७८ हजार ५ सय ५० र सन् २०१६ मा ३० लाख जम्मा गरेको देखिन्छ । माछापुच्छ्रे बैंकको ओभरड्राफ्ट खातामा भुसालले ३४ करोड ६९ लाख ७३ हजार ४ सय ५७ रुपैयाँ जम्मा गरेको र ३५ करोडभन्दा धेरै रकम निकालेको देखिन्छ । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकमार्फत पनि करोडौंको कारोबार गरेको पाइएको छ । केही वर्षयता दुबईमा रहेका भुसालको नाममा काठमाडौंको सामाखुसी, धापासी र माछापोखरीमा तीनवटा भव्य घर छन् । सन् २००४ यता ३७ लाख ९५ हजार २ सय ७ रुपैयाँ बराबरको सुनका गहना किनेको देखिन्छ ।

ब्युरोका अनुसार दुबईमा बसेर होटलदेखि ट्राभल एजेन्सीसम्मको व्यापारमा भुसालको संलग्नता छ । दुबईमा मात्रै आठ विभिन्न कम्पनीमा लगानी छ ।

दुबईमा याक एन्ड यती ज्वेलरी, याक एन्ड यती रेस्टुरेन्ट र एस्टोरिया होटलसमेत सञ्चालन गरेका छन् ।

उनले पटकपटक आफ्नो बैंक खातामा विदेशबाटै रकम जम्मा गरेका छन् । भुसालको खातामा विभिन्न मानिसले रकम ट्रान्सफर गर्नेदेखि चेक र नगदमार्फत ठूलो रकम बारम्बार जम्मा गरेको देखिन्छ । कतिसम्म भने काठमाडौंमा रहेको लक्ष्मी ज्वेलर्सले समेत एकैचोटि दस लाख रुपैयाँ जम्मा गरेको थियो । ब्युरोको बुझाइ छ, सुन पसलले त्यत्ति धेरै रकम जम्मा गर्नुको अर्थ हो, भुसालले उक्त पसललाई सुन उपलब्ध गराएका थिए ।

काभ्रे चलाल गणेशस्थान–६ का हरिशरण खडका केही वर्षयता दुबईमा बसेर भुसालसँगै कारोबारमा संलग्न छन् । साढे ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये खडका पनि एक रहेको ब्युरोको निष्कर्ष छ । सामान्य किसान परिवारका खडकाको पछिल्लो समयमा उक्लिँदो आर्थिक ‘ग्राफ’ देखेर उनका आफन्त जिब्रो काटछन् । खडकाको एभरेस्ट बैंकको खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात छ । दुबईमा बसेर तस्करीमा संलग्न रहेका खडकाले चलाल गणेस्थानका कैयन् युवालाई कामका निम्ति दुबई पठाएका थिए । छिमेकीका अनुसार नेपाल आउने तयारीमा रहेका खडका सुन बरामदपछि पक्राउ परिने डरले नेपाल आएनन् । यही बीचमा आमाको मृत्यु भए पनि नेपाल नआई दुबई नै बसे ।

सुन तस्करी आरोपमा पक्राउ परेका विमानस्थल भन्सारको एक्सरे शाखामा रेडियो टेक्निसियनका रूपमा कार्यरत सरकारी कर्मचारी श्यामकृष्ण श्रेष्ठको पनि अस्वाभाविक सम्पत्ति देखिन्छ । भक्तपुर ठिमीका स्थायी बासिन्दा श्याकृष्ण सात वर्षयता विमानस्थलमा कार्यरत थिए । छोटो समयमै ठूलो आर्थिक छलाङ मारेका उनी ठिमीकै मध्यपुर अस्पतालका सञ्चालकमध्येका एक हुन् । परिवारका अन्य सदस्य पनि उक्त अस्पतालमा सञ्चालक सदस्य र कर्मचारीका रूपमा कार्यरत छन् । प्राप्त कागजातका अनुसार नबिल बैंकमा रहेको श्यामकी श्रीमतीको खातामा मात्रै २०७३ मा २० करोड २ लाख ६३ हजार ३ सय ३४ रुपैयाँ जम्मा भएको छ । त्यस्तै इन्भेस्टमेन्ट बैंकको सिपाडोल खातामा पनि श्रेष्ठले विभिन्न समयमा लाखौं रुपैयाँ बचत गरेको देखिन्छ । माछापुच्छ्रे बैंकको चल्ती खातामा पछिल्लोपटक ५२ लाख ३४ हजार १ सय २६ रुपैयाँ निकालेका थिए । चल सम्पत्तिको अलावा श्यामको अचल सम्पत्ति पनि अस्वाभाविक छ । श्यामको नाममा मात्रै भक्तपुर अनन्तलिंगेश्वरमा तीनतले घर र ललितपुर बालकुमारीमा पनि घर रहेको ब्युरो अनुसन्धानले देखाएको छ । ब्युरोको बुझाइ छ, सामान्य सरकारी कर्मचारीको खातामा अस्वाभाविक रकम देखिनुले उनी संलग्न रहेको बुझ्न सकिन्छ ।

ब्युरोकी प्रवक्ता मीरा चौधरीले प्रतिवादीको आर्थिक कारोबार अस्वाभाविक रहेको बताइन् । संगठित अपराध ऐनअन्र्तगत ब्युरोले प्रतिवादीविरुद्ध मुद्दा चलाएको छ । आर्थिक कारोबार अस्वाभाविक देखिएकाले सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि मुद्दा चलाउनुपर्ने उनले बताइन् ।

सामान्य किसान डेढ वर्षमै करोडपति

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले दुबईमा बसेर सुन तस्करी धन्दा चलाइरहेका पाँचमध्ये गुल्मी दिगाम–५ तम्सेकका राजनप्रसाद पन्तलाई पनि प्रतिवादी बनाएको छ । सामान्य किसान पृष्ठभूमि रहेका पन्तको उर्लंदो आर्थिक हैसियत देखेर उनका गाउँले र नातेदार नै अचम्मित छन् ।

दिगामकै आदर्श माविमा कक्षा ९ पढ्दापढ्दै छोडेर रोजगारीका लागि भारत पुगेका पन्त त्यहाँ राम्रो आम्दानी नभएको भन्दै ५ वर्षअघि कामदार भिसामा दुबई गएका थिए । २ वर्ष दुबई बसेर फर्केका उनी झन्डै १० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक भिसामा फेरि दुबई उडे । अनुसन्धान अधिकारीले उनले डेढ वर्षदेखि दुबईबाटै सुन कारोबार गरेको आशंका गरेका छन् ।

‘पछिल्लो डेढ वर्षमा उनको आर्थिक हैसियत कसैले कल्पना नै नगर्ने गरी बढेको छ,’ सानैदेखिका एक सहपाठी स्थानीयले भने,’ अहिले यहाँको घरमा ताला लगाएर उनले बुटवलको योगीकुटीमा भव्य घर किनेका छन् ।’ बुटवलको योगीकुटीमा ३ करोड ५० लाखभन्दा बढी मूल्यको घर छ । उनले बुटवलमा घर खरिद गरेर आमा, श्रीमती, २ छोरा र २ छोरीलाई एक वर्षअघि बुटवल लगेका थिए ।

बुटवल जानुअघिसम्म परिवारले गाउँमै खेती किसानी गर्दै बारीमा उखु रोपेर आम्दानी गर्दै आएको थियो । पछिल्लो वर्ष बारीमा रोपेका उखुसमेत नकाटी घरमा ताला लगाएर सबै परिवार बुटवल झरेको थियो । गाउँको मूल्यअनुसार उनको घरजग्गा १० लाख रुपैयाँ बराबरको मात्र छ । तर बिक्री गरेका छैनन् ।

दुई वर्षअघिसम्म भाडाको जिप चढेर घर आउने उनी पछिल्लो २ पटक आउँदा ड्राइभरसहितको आफ्नै गाडीमा आएका थिए । स्थानीयका अनुसार उनले बुटवलमा घर किने पनि काठमाडौंमा महँगो फ्ल्याट भाडामा लिएर नेपाल आएका बेला बस्ने गरेका छन् । गाउँलेका अनुसार उनी सुन तस्कर गरेकै आरोपमा यसअघि पनि पक्राउ परेको हल्ला चलेको थियो । तर त्यतिबेला उनी दुबईमै थिए ।