images
images

चीनसँग सम्झौता हुने सम्भावना कम

 चैत्र ५, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा दुईपक्षीय सम्झौता हुने सम्भावना न्यून बनेको छ । चिनियाँ समकक्षी ली खछ्याङसँग दाहालको भेट नजुर्ने भएकाले सम्झौताको सम्भावना टरेको हो । चीनका प्रधानमन्त्री ली खछ्याङ आगामी चैत ९ देखि १६ सम्म न्युजिल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा जाने निश्चित भएकाले उनीसँग प्रधानमन्त्रीस्तरको भेटवार्ता सम्झौता नहुने भएको हो ।

शुक्रबार बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म ट्रनबुल र न्युजिल्यान्डका प्रधानमन्त्री बिल इङलिसको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली खछ्याङले ती दुई मुलुकको एक हप्ते औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री दाहाल चीन भ्रमणमा आउनुभन्दा एक दिन अगाडि नै चिनियाँ समकक्षी ली विदेश भ्रमणमा निस्कने भएपछि सम्झौतामा हस्ताक्षर नहुने भएको हो । प्रधानमन्त्री दाहालले चीनसँग केही महत्त्वपूर्ण सम्झौता गर्ने तयारी भइरहेको नेपालको परराष्ट्र मन्त्रालयले बताइरहँदा सम्झौता गर्नका लागि प्राविधिक समस्या सिर्जना भएको छ ।

प्रधानमन्त्री दाहालसँग नेपालका क्याबिनेट मन्त्री पनि आउने र मन्त्रीले नै चिनियाँ समकक्षीसँग सम्झौता गर्ने विकल्पबारे अहिले छलफल भइरहेको छ । तर त्यसको महत्त्व प्रधानमन्त्रीस्तरको नहुने भएकाले प्राविधिक समस्या सिर्जना हुने एक चिनियाँ विज्ञले कान्तिपुरलाई बताए । यसबारेमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई जिज्ञासा राख्दा हाल कुनै पनि कुराको टुंगो लागिनसकेको बताए । परराष्ट्र अधिकारीहरूका अनुसार भ्रमण नै कुन तवरबाट हुने भन्नेमा अझै टुंगो लागेको छैन । ‘भ्रमण राजकीय बनाउने तयारी भइरहँदा यस्तो समस्या सिर्जना भएको छ,’ एक अधिकारीले भने, ‘बोआओ अघि बेइजिङ कि बोआओ पछि बेइजिङ भन्नेमा अझै अलमल छ भने प्रधानमन्त्री दुई दिनअघि बेइजिङ पुग्ने गरी पनि छलफल भइरहेको छ ।’

चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन र महत्त्वपूर्ण सम्झौता गर्ने हो भने आफ्नो भ्रमणलाई दुई दिन अगाडि सार्ने दाहालसँग अर्को विकल्प रहेकाले त्यसमा विशेष छलफल भइरहेको एक अधिकारीले बताए । यसका लागि चिनियाँ पक्षसँग पनि समन्वय गरेर काम भइरहेको एक अधिकारीले काठमाडौंबाट जानकारी दिए । सम्झौतामा हस्ताक्षर नहुने भएमा प्रधानमन्त्री दाहालको चीन भ्रमणको मुख्य कार्यतालिका हाइनान प्रान्तको बोआओ फोरममा भाग लिने र बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने मात्र रहनेछ । हाइनान र बेइजिङपछि दाहाल तिब्बत स्वायत्त प्रदेशको ल्हासा गएर एक दिन बस्ने कार्यतालिका पनि बनेको छ । सबै कार्यतालिकाले अन्तिम रूप पाएको छैन, ती अधिकारीले भने । सम्झौताको विषयमा तयारी राम्रो नभएको अवस्थामा सरकारले यही अवसरलाई उपयोग गर्दै राजनीतिक वार्तामा मात्र सीमित राखेर छलफलमा भ्रमण सीमित हुन सक्ने अधिकारीहरूको धारणा छ ।