images
images

यात्रा प्रतिबन्ध सम्बन्धमा जारी नयाँ आदेशमा समेत अदालती रोक

चैत्र ३, २०७३ अमेरिकाको हवाइ राज्यस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य  रहेका ६ मुलुकका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध सम्बन्धमा जारी गरेको कार्यकारी आदेशमा रोक लगाएको छ । आजैबाट लागू हुनेगरी गत सोमबार राष्ट्रपति ट्रम्पले पुरानो सुचीबाट इराकलाई हटाउँदै यात्रा प्रतिबन्ध लगाउने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।  संघिय अदालतका न्यायाधिश डेयरिक वाट्सनले ट्रम्पको नयाँ कार्यकारी आदेश विरुद्ध फैसला सुनाउँदै सो आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिनुभएको हो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध जारी गरेको नयाँ कार्यकारी आदेशबिरुद्ध हवाई सहित अन्य विभिन्न राज्यमा मुद्दा दायर भएको थियो ।  नयाँ कार्यकारी आदेश अनुसार अमेरिकाको शरणार्थी कार्यक्रम १ सय २० दिनका लागि खारेज गरिने र वार्षिक ५० हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिने प्रावधान तय गरिएको थियो । यसअघि राष्ट्रपति बने लगतै ट्रम्पले  मुस्लिम बाहुल्य रहेका सात मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो । सो कार्यकारी आदेशमा समेत विभिन्न राज्यका संघिय अदालतले रोक लगाएका थिए ।