चैत्र २, २०७३- यातायात व्यवस्था विभागले बीपी राजमार्गमा सवारी यातायात व्यवस्था ऐनविपरीत गाडी चलाउने चालकलाई कारबाही गरेको छ । ऐनविपरीत चालकले गाडी चलाएको गुनासो बढेपछि मंगलबार विभागको छड्के टोलीले २५ भन्दा बढी सवारी चालकलाई कारबाही गरेको हो । विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार माइक्रोबस, मिनी बस, टाटा सुमोका चालक कारबाहीमा परेका छन् । ‘अधिकांश गाडी ऐनविपरीत सञ्चालन गरेको पाइयो,’ पाण्डेले भने ।
कारबाहीमा पर्नेमा बढी भाडा लिने १५ वटा, रुट परमिट नलिएका ५, कागजात नभएका २, नम्बर प्लेट नभएको एउटा, यात्रुलाई टिकट नदिने एउटा र क्षमताभन्दा बढी यात्रु बोक्ने एउटा सवारी साधनका चालक छन् । नियमविपरीत गाडी चलाउनेलाई यातायात तथा सवारी व्यवस्था ऐनअनुसार ५ हजार रुपैयाँ जरिवाना गर्ने उनले बताए । यातायात क्षेत्रमा विकृति बढेको गुनासो बढेपछि विभागले मुलुकका अन्य स्थानमा पनि छड्के जाँच अभियान बढाउने उनले बताए ।