चैत्र १, २०७३- सप्तरीको मलेठमा गत फागुन २३ गते प्रहरीको गोली लागि मारिएका पाँचजनाको परिवारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रति परिवार ५१ हजार रुपैयाँका दरले क्रिया खर्च मंगलबार प्रदान गरेको छ । मोर्चा सप्तरीको निर्णय अनुसार मंगलबार पाँचैजनाको घरमा पुगी ५१ हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेको मोर्चा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिए । यस्तै, मोर्चा सप्तरीले उक्त झडपका क्रममा गोली लागि घाइते भएका बिसनपुर कटीका जितेन्द्र साहलाई ११ हजार रुपैयाँ समेत प्रदान गरेको छ । गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि मलेठमा सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो तथा प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । यस अघि पाँचैजना मृतकको परिवारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छुटाछुटै रुपमा प्रति परिवार २५–२५ हजार रुपैयाँका दरले क्रिया खर्च उपलब्ध गराएका थिए । यस्तै अधिवक्ता दीपेन्द्र झाले मलेठ घटनमा मृत्यु भएका पाँचै परिवारलाई व्यक्तीगत रुपमा प्रति परिवार १५–१५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।