images
images

चुनाव गर्छु, संशोधनमा सहयोग गर्नुस् -दाहालले ओलीसँग भने

चैत्र १ , २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको चुनाव कुनै हालतमा नरोकिने आवश्वासन प्रमुख विपक्षी दल एमालेका नेता केपी ओलीलाई दिएका छन् । सकेसम्म सबैलाई चुनावमा समेटेर जाने गरी आफूले माहोल बनाइरहेकाले त्यसमा सहयोग गर्न दाहालले ओलीलाई आग्रह पनि गरेका छन् ।

एमालेको मेची–महाकाली अभियानका क्रममा कपिलबस्तु पुगेका ओलीे ‘जरुरी काम पर्‍यो’ भन्दै सोमबार अकस्मात् राजधानी आएका थिए । राजधानीमा उत्रे लगत्तै उनी प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार पुगेका थिए । ओलीसँगको भेटमा दाहालले संविधान संशोधन प्रस्ताव पारित भए मधेसी दलहरुसमेत ढुक्कले चुनावमा सहभागी हुने वातावरण बन्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

दाहालले संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रयोजनका लागि नै आफूले सरकारमा विभिन्न दलका नेताहरुलाई समेटेर लैजाने प्रयास थालेको जानकारी थिए । पछिल्लो समय राप्रपाका अध्यक्ष कमल थापा पनि सरकारमा सहभागी भएको उल्लेख गर्दै अन्य दललाई पनि मिलाएर चुनावको माहौल बनाउन आफू लागिरहेको धारणा दाहालले राखेका थिए ।

‘संविधान संशोधनका लागि दुई तिहाई पुर्‍याउनका लागि सहयोग गर्नुहोस् भन्ने प्रधानमन्त्रीको आग्रह छ’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । कान्तिपुर का  अनुसार प्रधानमन्त्री दाहालले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि सरकारमा सहभागी हुने तयारीमा रहेको बताएका थिए ।

ओलीले संशोधनमा एमालेले सघाउने कुनै संभावना नरहेको जवाफ दिएका छन् । तर चुनावसम्बन्धि काम अघि बढाउनका निम्ति हुन सक्ने सबै अप्ठ्यारा फुकाउन आफूले सहयोग गर्ने आश्वासन उनले दाहाललाई दिएका छन् । ओलीले कुनै पनि हालतमा चुनाव हुनै पर्ने उल्लेख गर्दै चुनाव गर्न कुनै राजनीतिक र प्राविधिक समस्या परे त्यसमा एमालेले फुकाउन सहयोग गर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहाल पछिल्लो समय सके संविधान संशोधन पारित गरेर चुनावमा जाने कसरतमा छन् । संशोधन प्रस्ताव फेल भए पनि चुनाव चाहीं नरोक्ने उनको मनसाय छ । संविधान कार्यान्वयन गर्न जसरी पनि चुनाव गर्नैपर्ने तर त्यही चुनाव चाही नहुने अवस्थामा पदमा बसिरहन नैतिक संकट पर्ने भएकाले प्रधानमन्त्री चुनावको पक्षमा छन् । संंशोधन प्रस्ताव फेल भएको अवस्थामा पनि चुनाव गर्ने गरी विपक्षी एमालेलाई विश्वासमा लिने कोशिस उनको छ ।

मोर्चाको असहमतिका वावजुद सत्ता समिकरणमा कुनै फेरबदल हुने भए त्यस्तो अवस्थालाई समेत ख्याल गरेर दाहालले विपक्षी एमालेसंगको सम्पर्क र सम्बन्ध बढाएका हुन् । उनले मोर्चाका नेताहरुलाई पनि सकेसम्म सहमतिमा आउन अनुरोध गरेका छन् । ठूला दल काग्रेस, एमालेलाई पनि मोर्चालाई सहमतिमा ल्याउन कुनै विकल्प भए आफूलाई सुझाउन आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीसंग सोमबार पनि दाहालले मधेसीहरु मान्ने खालको कुनै प्रस्ताव भए आफूलाई दिन आग्रह गरेका थिए ।