images
images

टेलिकमले सीडीएमए विस्तार नगर्ने

 फाल्गुन ३०, २०७३- नेपाल टेलिकमले सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) प्रविधिमा आधारित दूरसञ्चार सेवा विस्तारमा थप लगानी नगर्ने भएको छ । टेलिकमले सीडीएएम प्रविधिमा आधारित ‘फिक्स्ड’ लाइन, मोबाइल र इन्टरनेट कुनै पनि सेवा विस्तारमा थप लगानी नगर्ने भएको हो । यो प्रविधिमा थप लगानी नगरिए पनि पहिलेदेखि नै चलिरहेका सेवालाई भने कायमै राख्नेछ । ग्राहकले सेवा चलिरहेका क्षेत्रमा यो प्रविधिको फोन तथा सिमकार्ड (रिम) समेत किन्न र चलाउन पाउनेछन् । नयाँ क्षेत्र र पुरानै क्षेत्रमा पनि सेवाको विस्तार भने हुने छैन । ‘सीडीएमए प्रविधि संसारभरबाट फेजआउट हुँदै गएको छ,’ सूचना तथा सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङले भने, ‘फेज आउट भएको प्रविधिमा थप लगानी गर्नु जरुरी छैन ।’सीडीएमए प्रविधिमा आधारित सेवाका लागि उपकरणसमेत नपाइने अवस्था आइसकेकाले त्यसको साटो जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल) का लागि थप लगानी गर्ने योजना टेलिकमले अघि बढाएको हो । टेलिकम सञ्चालक समितिले करिब साढे २ वर्षअघि सात चरणमा सम्पन्न गर्ने गरी बनाइएको सीडीएमए विस्तार योजनालाई तीन चरणमै सिध्याउने निर्णय गरेको थियो । त्यसबेला सेवा विस्तारका क्षेत्र र लगानी कटौती गरेर तेस्रो चरणमा टेलिफोन सेवा नपुगेका केही हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा सीडीएमए विस्तार नगर्ने निर्णय गरिएको हो । सञ्चालक समितिले त्यसबेला कुल ३ सय ९० मोबाइल टावर निर्माण गर्ने निर्णय गरेको थियो । त्यसमध्ये २ सय १५ वटा पुराना टावरलाई विस्थापित गरी तेस्रो पुस्ताको मोबाइल डाटा (थ्रीजी) चल्ने बनाउने र ७५ वटा थप टावर स्थापना गर्ने योजना थियो । सो निर्णयअनुसार हाल टेलिकमले विस्तार र पुराना टावर विस्थापन गरिसकेकाले थप लगानी नगर्ने योजना अघि सारेको हो । ‘हाम्रो पुरानो सेवा कायम नै रहन्छ तर अबका नयाँ योजनामा मात्र सीडीएमए विस्तारलाई अघि नबढाइने भएको हो,’ टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले भनिन्, ‘सीडीएमए सेवा विश्वभर नै फेज–आउट हुँदै गएको छ, यसमा जीएसएममा जस्तो अन्वेषण पनि भइरहेको छैन ।’ विशेषगरी ग्रामीण क्षेत्रमा लोकप्रिय सीडीएमए प्रविधिका टावरमा लाग्ने उपकरणसमेत अहिले पाइन छाडेको टेलिकमका अधिकारीहरू बताउँछन् । दशकअघि सीडीएमए प्रविधि भित्र्याएको टेलिकमले यसमा आधारित ‘फिक्स्ड’ लाइन र मोबाइल दुवैखाले सेवा चलाइरहेको छ । मोबाइलजस्तै बोकेर सार्न मिल्ने ‘फिक्स्ड’ लाइन सीडीएमए पहिलोपटक भित्रँदा राजधानीसहित मुलुकका सहरी क्षेत्रमा निकै लोकप्रिय भएको थियो । यसैगरी सीडीएमए प्रविधिमा आधारित मोबाइल सेवा ‘स्काई फोन’ अहिले पनि अन्य नेटवर्क राम्रो नभएका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय छ । सहरी क्षेत्रमा लोकप्रिय भएको ‘फिक्स्ड’ लाइन फोनबाट इन्टरनेट प्रयोग गर्न नपाएपछि र जीएसएम मोबाइलको विस्तारले यसका ग्राहक घट्दै गएका थिए । स्मार्टफोनको आगमनसँगै ‘स्काई फोन’ का प्रयोगकर्ता बढ्ने क्रम पनि रोकिएको छ । सीडीएमए प्रविधि चल्ने मोबाइल सेटमा संसारभर नै खासै अन्वेषण हुने गरेको छैन । यसले गर्दा नयाँ सेवासहितका सीडीएमए स्मार्टफोन बजारमा आउन सकेका छैनन् । त्यसले गर्दा यसमा ग्राहक अकर्षण कम छ । सीडीएमए प्रविधिलाई सुरक्षाका हिसाबले जीएसमएभन्दा राम्रो मानिन्छ । दुर्गम क्षेत्रमा उच्च गुणस्तरको नेटवर्कसहितको सेवा दिन यो प्रविधिलाई उपयुक्तसमेत मानिन्छ । तर, यसका सबै उपकरणले विद्युत् खपत धेरै गर्छन् । अहिले विश्वभर नै कम विद्युत् खपत गर्ने उपकरणको विकास गर्ने होड चलेकाले पनि सीडीएमएतर्फ धेरैले ध्यान दिएका छैनन् । नेपाल टेलिकमले ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा चलाइरहेको हो । टेलिकमले यसका लागि ८ मेगाहर्ज फ्रिक्वेन्सी पाएकामा केही महिनाअघि मात्र नेपाल दूरसञ्चार प्राधिकरणले २ मेगाहर्ज फिर्ता गराएको छ । नयाँ फ्रिक्वेन्सी नीतिअनुसार यो ब्यान्डमा ६ मेगाहर्जभन्दा बढी दिन नमिल्ने भन्दै प्राधिकरणले फ्रिक्वेन्सी फिर्ता गराएको हो । प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदन अनुसार टेलिकमको सीडीएमए ‘फिक्स्ड’ लाइनका ग्राहक १ लाख २१ हजार ८ सय ७२ छन् भने मोबाइलका ग्राहक १४ लाख ७८ हजार ७ सय ८३ रहेका छन् । सीडीएमए मोबाइल चलाउनेमध्ये १ लाख ३६ हजार ५ सय ७३ ग्राहक यही प्रविधिबाट इन्टरनेट चलाउँछन् । टेलिकमले सीडीएमए प्रविधिमा आधारित ताररहित इन्टरनेट सेवा पनि चलाइरहेको छ । तेस्रो पुस्ता (थ्रीजी) को यो सेवालाई ‘ई–भिडियो (इभोलुसन डाटा वन्ली)’ भनिन्छ । थप लगानी नगर्ने निर्णय गरिए पनि पुराना ग्राहकलाई कुनै फरक नपर्ने टेलिकमका अधिकारीहरू बताउँछन् । ‘हामी पुरानो सर्भिसलाई यथावत् राख्छौं,’ प्रवक्ता वैद्यले भनिन्, ‘नयाँ सेवा मात्र विस्तार नहुने हो ।