फाल्गुन १९, २०७३- उपचारका क्रममा मृत्यु भएकी पनौती १० की ४२ वर्षीया शुभद्रा महतको परिवारले धुलिखेल अस्पतालको लापरबाही भएको दाबी गरेको छ । पीडित परिवारले छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
पाठघेर र पित्तथैलीको पत्थरीको उपचारका लागि शनिबार अस्पताल भर्ना भएकी महतको मंगलबार राति मृत्यु भएको थियो । मृतकका श्रीमान् सहदेवले अस्पतालको लापरबाहीले मृत्यु भएको दाबी गरे । ‘हिंडै आएकी मेरी श्रीमतीको लास लिएर जानुपर्यो,’ उनले भने, ‘सिकारुलाई उपचार गराउन लगाएर सिनियरलाई जानकारी नहुँदा उसको मृत्यु भयो ।’ रक्तअल्पता र महिनावारी हुँदा अधिक रक्तस्राव हुने समस्याका कारण उनी भर्ना भएकी थिइन् । आइतबार शल्यक्रिया गरिएकी उनी सोमबारसम्म स्वस्थ नै थिइन् । रगतको कमी भएपछि रगत दिने क्रममा समस्या देखिएको थियो ।
‘ब्लड ट्रान्सफ्युज गर्दा भएको एनाफाइलेटिक रियाक्सनका कारण यो समस्या आएको हो,’ उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठले भनिन्, ‘१ लाख जनामध्ये १ जनामा यो समस्या देखिन सक्छ ।’ उनले रगतमा नै केही समस्या हो कि भनेर परीक्षण (कल्चर) का लागि पठाएको बताइन् । उनले समस्या आएलगत्तै डाक्टरको टिमले अनेक प्रयास गर्दा पनि बचाउन नसकेको दाबी गरिन् ।
परिवारले भने सिकारुमार्फत उपचार गर्दा मृत्यु भएको दाबी गरे । ‘जान्ने मान्छेले रगत नराखी सिकारु नर्सले राखिन्, तत्काल समस्या आयो,’ कुरुवा बसेकी मृतककी बुहारी सुजिताले भनिन्, ‘ज्यानमाथि नै खेलवाड गरेर सिक्न दिनु त भएन नि ।’
अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै उपचारका क्रममा भएको प्राविधिक त्रुटि आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता जनाएको छ । यसअघिका घटनामा व्यवस्थापनबाट प्रतिबद्धता आउने गरे पनि दोषीलाई कारबाही भएको छैन ।