images
images

मोर्चाद्वारा २४ र २५ मधेस बन्द गर्ने घोषणा

सप्तरी घटनापछि बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको छ। संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा सोमबार राति बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि छलफल भएको थियो। राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले फेसबुकको आफ्नो स्ट्याटसमा सरकारलाई समर्थन फिर्ता लिएकोबारे मंगलबार सभामुख पत्र बुझाइने उल्लेख गरेका थिए।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अन्तिम छलफल गर्ने गरी मंगलबार ३ बजे पुनः मोर्चाको बैठक बस्ने निर्णय गरेको झाले बताए। उनका अनुसार आजको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर अनुपस्थित भएका कारण सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुन सकेन। भोलि समर्थन फिर्ताको निर्णय लिएर त्यसको जानकारी भोलि नै सभामुख ओनसरी घर्तीलाई पत्रमार्फत दिइने महासचिव झाले बताए।

मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि गोली चलाउँदा चार जनाको मृत्यु भएपछि मोर्चाको आकस्मिक बैठक बसेको थियो। सप्तरी झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको विज्ञप्तिमा उल्लेख छ।